Bisal Chautari Logo

ट्रम्पले झूटैझूट बोलेपछि टीभी च्यानलहरूले बीचैमा काटे प्रत्यक्ष प्रसारण

- २१ कार्तिक २०७७, शुक्रबार ०६:३५ मा प्रकाशित


अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बिहीवार राति टीभमार्फत सम्बोधन गर्ने क्रममा एकपछि अर्को झूटो बोलेको भन्दै टीभी च्यानलहरूले प्रत्यक्ष प्रसारण बीचैमा काटेका छन् ।

उनले गलत सूचना फैलाएको भन्दै प्रसारण काटिएको हो ।

ट्रम्पले १७ मिनेटको सम्बोधनमा प्रमाणरहित दाबीहरू गरे । डेमोक्रेटहरूले अवैध भोट हालेको अनि निर्वाचन हडप्न खोजेको आरोप उनले लगाए ।

महत्त्वपूर्ण राज्यहरूमा ट्रम्पका प्रतिद्वन्द्वी जो बाइडनले अग्रता बढाउँदै लगेको अवस्थामा ट्रम्पको आक्रोश अभिव्यक्त भएको हो ।

‘अमेरिकाका राष्ट्रपतिको भाषणको प्रसारण बीचैमा रोक्ने मात्र नभई सुधार्ने स्थितिमा हामी आइपुगेका छौं,’ एमएसएनबीसी टीभीका प्रस्तोता ब्रायन विलियम्सले बताए । अनि उक्त टीभीले प्रत्यक्ष प्रसारण बीचैमा रोक्यो ।

एनबीसी र एबीसी न्युजले पनि ट्रम्पको प्रत्यक्ष प्रसारण रोके ।

‘अमेरिकी जनताले आफ्ना राष्ट्रपतिबाट यस्तो कुरा सुन्नुपरेको विरक्तलाग्दो स्थिति हो,’ सीएनएनका जेक ट्याप्परले बताए ।

निर्वाचन हडपेको भन्ने झूटमाथि झूट बोलेको र कुनै प्रमाण नदिइकन आरोप मात्र लगाएको भनी उनले ट्रम्पको भाषणको व्याख्या गरे ।

प्रतिक्रिया