Bisal Chautari Logo

कस्टुयम डिजाइनर भानु अथैयाको निधन

- ३० आश्विन २०७७, शुक्रबार ०७:५० मा प्रकाशित


एजेन्सी । भारतीय पोसाक डिजाइनर भानु अथैयाको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि ब्रेन ट्युमरसँग लडिरहेकी उनको बिहीबार निधन भएको उनकी छोरीले पुष्टि गरेकी हुन् ।

भानुकी छोरी राधिका गुप्ता भन्छिन्, “बिहीबार बिहान उहाँको निधन भएको छ । आठ वर्षअघि मस्तिष्कमा ट्युमर भएको पत्ता लागेको थियो । पछिल्लो तीन वर्षदेखि यही कारण शरीरका अंगहरु पनि चल्न छोडेर थला पर्नुभएको थियो ।”
उनले भारतका लागि पहिलो ओस्कर अवार्ड जितेकी हुन् । सन् १९८३ मा भानु अथैयाले कस्ट्युम डिजाइन गरेको निर्देशक रिचर्ड एटनबरोको चलचित्र ‘गान्धी’ बाट बेस्ट कस्ट्युम डिजाइनर अवार्डबाट सम्मान गरिएको थियो । उनलाई चलचित्र ‘लगान’ र ‘लेकिन’ बाट राष्ट्रिय पुरस्कार पनि प्राप्त भएको थियो ।

पाँच दशकको करियरमा उनले १०० भन्दा बढी बलिउड चलचित्रमा कस्ट्युम डिजाइनरका रुपमा काम गरेकी छिन् । उनले अन्तिमपटक आमिर खानको चलचित्र ‘लगान’ र शाहरुखको ‘स्वदेश’ मा काम गरेकी थिइन् ।

उनले सन् २०१२ मा ओस्कर अवार्ड फिर्ता दिने निर्णय पनि लिएकी थिइन् । भारत सरकार र परिवारले यो अमूल्य अवार्डको हेरचाह गर्न सकेन भन्दै एकेडेमीको संग्रहालयमा मात्रै यो सुरक्षित र सुव्यवस्थित हुने भन्दै उनले त्यस्तो निर्णय लिएकी थिइन् । उनले सन् १९५६ मा आएको सुपरहिट चलचित्र ‘सीआईडी’ बाट कस्ट्युम डिजाइरका रुपमा करियरको सुरुवात गरेकी थिइन् । (नवभारत टाइम्स

प्रतिक्रिया