Bisal Chautari Logo

विराटनगरमा थप तीन संक्रमितको मृत्यु

- २९ आश्विन २०७७, बिहीबार ०५:०१ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २८ बुधवार ।  कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ ।

विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको हो ।

विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुष छन् ।

विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए । उनको बिहीबार बिहान ३ः३० बजेतिर मृत्यु भएको हो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको बस्नेतले बताए ।

सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको उनले बताए ।

उनको उपचारकै क्रममा बुधबार राति ९ बजेतिर मृत्यु भएको जानकारी बस्नेतले दिए । मृतकमा मधुमेह, उच्च रक्तचाप लगायतका स्वास्थ्य सम्बन्धी पुरानै समस्या रहेको उनको भनाइ छ ।

यसैगरी विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा मोरङको सुन्दरहरैँचा नगरपालिका–५ की ४० वर्षीया महिलाको बुधबार साँझ ७ बजेतिर मृत्यु भएको छ । मुटु सम्बन्धी समस्या भएर उपचारका लागि गत मंगलबार उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया