Bisal Chautari Logo

सुदूरपश्चिमका थप तीन विमानस्थलमा पनि उडान हुँदै

- २६ आश्विन २०७७, सोमबार ०४:४२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौ,२०७७ असोज २६ सोमवार । लामो समयदेखि बन्द रहेका सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलमा उडानको तयारी गरिएको छ। सुदूरपश्चिमका पहाडी जिल्ला बैतडी, डोटी र बझाङमा रहेका विमानस्थलमा उडानको तयारी थालिएको हो।

उडानको तयारी स्वरुप नेपाल नागरिक उड्यन प्राधिकरणले तीन वटै विमानस्थलमा प्राविधिक जनशक्ति खटाएको छ। बैतडीको पाटन, डोटीको दिपायल र बझाङको देवल विमानस्थलमा पुनः हवाई सेवा सञ्चालन गर्न नेपाल नागरिक उड्यन प्राधिकरणले प्राविधिक जनशक्ति खटाएको हो।

केही दिन अघि मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले एकै दिन उडान उद्घाटन गरेका यी तीन वटा विमानस्थलमा हवाई सेवा सञ्चालन गर्न प्राधिकरणले एयर ट्राफिक कन्ट्रोलर खटाएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए ।

उनका अनुसार टावर र अन्य उपकरण जडान नभएको अवस्था भएकाले प्राधिकरणले तत्कालका लागि भिएचएफ प्रणालीबाट हवाई सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति खटाएको छ ।

यहि असोज १७ गते तयारी उडान गरिएका तीनवटै विमानस्थलमा समिट एयरले नियमित हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको छ। समिट एयरले धनगढीलाई बेस बनाएर बैतडी, डोटी र बझाङका लागि उडान भर्ने जनाएको छ ।

समिट एयर सुदूरपश्चिमका प्रतिनिधि हर्क मल्लले मंगलबार धनगढी–बझाङ उडान हुने जानकारी दिए। उनले बैतडी र डोटीमा समेत चार्टड उडान भर्ने तयारी रहेपनि तत्काल यात्रु नभएकाले अहिले नै टुङ्गो नलागेको बताए । यी दुई ठाउँमा यात्रुहरुको अवस्था हेरेर नियमित उडानको विषयमा टुङ्गो लाग्ने समिट एयरले जनाएको छ ।

धनगढीबाट बझाङको भाडा पाँच हजार ४८ रुपैयाँ कायम गरिएको छ भने धनगढी–बैतडीको भाडा तीन हजार आठ सय दुई रुपैयाँ तोकिएको छ । डोटीको भाडादर भने कायम भैसकेको छैन ।

बैतडी जिल्लामा साताको १ दिन बिहीबार विमान सञ्चालन गरिने छ भने बझाङमा दुईदिन हवाई सेवा सुचारु गरिने समिट एयर पश्चिम क्षेत्रीय निर्देशक सरोज उप्रेतीले जानकारी दिएका छन् ।

२०५२ सालदेखि उडान बन्द भएको बैतडीको पाटन एयरपोर्ट मा २५ वर्ष पछि पुनः हवाई सेवा सुचारु हुन लागेको हो । बैतडीमा २०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो ।

बझाङ विमानस्थल २०५२ साददेखि सञ्चालनमा आएर २०६४ सालमा बन्द भएको थियो ।

प्रतिक्रिया