Bisal Chautari Logo

जातीय उत्पीडनका कारण भारतमा एक डाक्टरले आत्महत्या गरेपछि , चर्कियो प्रदर्शन

- २४ आश्विन २०७७, शनिबार ०५:०२ मा प्रकाशित


भारतको छत्तिसगढका एक डाक्टरले कथित जातीय उत्पीडनका कारण आत्महत्या गरेको घटनालाई लिएर विरोध प्रदर्शन सुरु भएको छ।

२८ वर्षीय चिकित्साशात्रका विद्यार्थी डाक्टर भागवत देवांगनले जबलपुर मेडिकल कलेजमा जातीय उत्पीडन खेप्नु परेपछि आत्महत्या गरेको विषयमा प्रदर्शन चर्केको हो।

गरिब र तल्लो जातको भन्दै कलेजका सिनियरहरुले लगातार भागवतलाई प्रताडित गरेको उनका आफन्तको आरोप छ। लगातारको उत्पीडन खेप्न नसकेपछि भागवतले मेडिकल कलेजको छात्राबासमा पासो लगाएर आत्महत्या गरेका थिए।

तर मेडिकल कलेजकाे व्यवस्थापनले यो आरोप निराधार रहेको बताएको छ। परिवारको उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।

मृतकका आफन्तले मेडिकल कलेजका पाँचजना डाक्टरकाविरुद्ध उजुरी दिएका छन्।

पछिल्लो ९ दिनदेखि घटनाका अनुसन्धान गरिरहेका जबलपुर थानाका प्रभारी राकेश तिवारीले घटनाका सम्बन्धमा केही व्यक्तिहरुसँग सोधपुछ गरिएको तर कोरोना संक्रमणको जोखिमका कारण डाक्टरहरुसँग बयान लिन ढिलो भएको बताएका छन्।

भागवत अर्थोपेडिकमा पिजी गरिरहेका थिए।

उनको आत्महत्या घटनामा दोषीहरुलाई कारबाहीको माग राखेर प्रदर्शन भइरहेको छ। सामजिक सञ्जालमा पनि ‘जस्टिस फर भागवत देवांगन’ अभियान चलाइएको छ।

प्रतिक्रिया