Bisal Chautari Logo

रुपन्देहीमा वडा सदस्यसहित दुई कोरोना संक्रमितको मृत्यु

- २२ आश्विन २०७७, बिहीबार ०५:२७ मा प्रकाशित


काठमाडौं :  रुपन्देहीमा थप दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा एक जना रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ का वडा सदस्य हुन्। भैरहवास्थित युसीएमएस शिक्षण अस्पतालमा भेन्टिलेटरमा उपचारका क्रममा वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको वडाध्यक्ष चेतबहादुर क्षेत्रीले जानकारी दिए।

४७ वर्षका वडा सदस्यको मृत्यु भएपछि वडाबाट प्रदान गरिने सेवा एक दिनका लागि बन्द गरिएको छ।

बुधवार राती ८:३० बजेन उनको मृत्यु भएको हो। १३ गते परीक्षण गराउँदा संक्रमण पुष्टि भएका उनलाई स्वास प्रस्वासमा समस्या आएपछि १४ गते युसीएमएस लगिएको थियो।

केही दिन भेन्टिलेटरमा राखेपछि शनिवार उनलाई भेन्टिलेटरबाट निकालिएकोमा पुन: एक्कासी स्वास्प्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको थियो। उनलाई रेमिडिसिभरको प्रयोगसमेत गरिएको थियो।

यसैबीच रुपन्देहीको बुटवल उपमहानगरपालिका ६ का ४७ वर्षका पुरुषको पनि बुधवार नै उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको बुधवार साँझ ५:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनमा असोज १५ गते कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।

स्वास प्रश्वासमा समस्या तथा ज्वोरो बढेपछि उनलाई बुधवार दिउँसो १ बजे अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

प्रतिक्रिया