Bisal Chautari Logo

भारतको एउटै जेलमा ३४ नेपाली

- १ माघ २०७४, सोमबार १२:२३ मा प्रकाशित


34 Nepalis in the same jail of India
विशाल चैतारी समाचार
काठमाडौँ , २०७४ माघ ०१ सोमबार । भारतका विभिन्न जेलमा रहेका सयौँ नेपालीको उद्धारका लागि दिल्लीस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ ।
दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलन थालेको कार्यवाहक राजदूत भरत कुमार रेग्मीले जानकारी गराए ।
‘भारतमा विभिन्न आरोपमा सजाय पाएर जेलजीवन बिताउन बाध्य भएका नेपालीहरूको उद्धारका लागि पहिलो चरणमा तथ्याङ्क सङ्कलन सुरु गरेका छौँ’ रेग्मीले भने, ‘तीन चार महिनाभित्र यो कार्य सकिने अनुमान छ ।’
दूतावासका अनुसार भारतको एउटै जेलमा ३४ जना नेपाली बन्दी अवस्थामा भेटिएका छन् । हिमाञ्ल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा पुग्दा यस्तो तथ्य बाहिरिएको हो । हिमाञ्चलको एउटै जेलमा ३४ जना नेपालीहरू बन्दी जीवन बिताउन बाध्य रहेको दूतावासले जनाएको छ ।
भारतीय जेलबाट नेपालीको उद्धारका लागि अध्ययन थालिएको रेग्मीले जानकारी दिए । दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ । जसमध्ये ४८ जनाको त हिमाञ्चल प्रदेशका जेलहरुबाट उद्धार गरिएको हो ।
कामको खोजीमा हिमाञ्चल, उत्तराखण्ड लगायत राज्यमा आएका नेपाली विभिन्न अपराधमा लामो समयदेखि स्थानीय जेलमा बन्दी भएका छन् । अधिकांश नेपाली स्थानीय प्रहरीको झुटो आरोपको सजाय पनि भोग्न बाध्य भएका छन् ।

प्रतिक्रिया