Bisal Chautari Logo

कागलाई दिन रोटी पकाइँदै

- ३० पुष २०७४, आईतवार ०९:३० मा प्रकाशित


Baking the cork to the bread
विशाल चौतारी समाचार
बैतडी, २०७४ पौस ३० आइतबार । बैतडीलगायत प्रदेश नं ७ (सुदूरपश्चिम)का अधिकांश जिल्लाका बासिन्दाले आज कागका लागि रोटी पकाइरहेका छन् ।
                                                                                                                           फाइल फोटो

सुदूरपश्चिममा सोमबार माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रुपमा मनाइँदै । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन आज राति मीठोमसिनो खाने चलन रहिआएको छ । आज राति खास गरेर चामलको पिठोबाट माँडा पकाउने चलने छ ।
माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पं दयाकृष्ण पन्तले बताउनुभयो । नर (मानिस) हरि(विष्णु)मा लीन हुने अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघेसङ्क्रान्तिलाई नरहरि भनिएको उहाँले बताउनुभयो । यो दिन तरुललगायत खानेकुरा खाइन्छ । यस्तै आज राति पकाइएको माँडा सबैभन्दा पहिला कागका लागि छुट्याइन्छ अनि मात्र घरपरिवारका सदस्यले खाने गर्छन् ।
सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का का मेरो रोटी खा’, ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ ।
नरहरि सङ्क्रान्तिमा विवाहिताहरु माइत जाने चलनसमेत रहेको स्थानीयवासी हेमराज गिरीले जानकारी दिनुभयो । नरहरि सङ्क्रान्तिको दिन विभिन्न नदी तथा तलाउमा नुहाउने चलन छ । चिसो पानीले नुहाउँदा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ । रासस

प्रतिक्रिया