Bisal Chautari Logo

अध्यादेश जारी भए पछि मात्र पद त्याग गर्ने देउवा

- २९ मंसिर २०७४, शुक्रबार ०७:०५ मा प्रकाशित


Deuba to leave the post only after the ordinance is issued
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर २९ शुक्रवार । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष प्रमाणीकरणका लागि पेस भएको राष्ट्रियसभा निर्वाचन अध्यादेश जारी भए पछि मात्र पद त्याग गर्ने बताएका छन्।
निर्वाचनमा ठूलो जीत हात पारेको नेकपा एमालेबाट सत्ता हस्तान्तरणको निम्ति दबाब खेपिरहेका प्रधानमन्त्री देउवाले राष्ट्रपतिसँगको भेटमा त्यस्तो बताएका हुन् ।
आफ्नो दलले ठूलो झट्का व्यहोरेको निर्वाचन सम्पन्न भएपछि प्रधानमन्त्री देउवा बिहिबार राष्ट्रपतिलाई भेट्न गएका थिए।
उक्त भेटमा प्रधानमन्त्रीले लामो समयदेखि राष्ट्रपति कार्यालयमा रोकिएको राष्ट्रियसभा निर्वाचन सम्बन्धी अध्यादेशको प्रसंग झिकेका थिए।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने, “प्रधानमन्त्रीले उक्त अध्यादेश जतिसक्दो चाँडै जारी गरेर नयाँ प्रधानमन्त्री र समानुपातिक सांसद चयन तथा राष्ट्रियसभा गठन प्रक्रियाको ढोका खोलिदिन आग्रह गर्नुभयो।”
प्रधानमन्त्रीले उक्त अध्यादेश जतिसक्दो चाँडै जारी गरेर नयाँ प्रधानमन्त्री र समानुपातिक सांसद चयन तथा राष्ट्रियसभा गठन प्रक्रियाको ढोका खोलिदिन आग्रह गरेका हुन । देउवा सरकारले एमाले र माओवादी केन्द्रको असहमति रहेका प्रावधान सहितको अध्यादेश चुनाव अघि नै राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।
प्रधानमन्त्री राष्ट्रिय सभा गठनपछि मात्र सत्ता हस्तान्तरण गर्ने मनस्थितिमा देखिन्छन्, जसको निम्ति अध्यादेश अत्यावश्यक हुनेछ।
प्रधानमन्त्रीका प्रेस संयोजक परियारले भने, “प्रधानमन्त्रीको दायित्व संविधान अनुसारका सबै चुनाव गर्ने हो। संघीय संसद्ले राष्ट्रियसभा गठनपछि मात्र पूर्णता पाउँछ। त्यसलगत्तै प्रधानमन्त्रीले सत्ता हस्तान्तरण गर्नुहुन्छ।”
सरकारले प्रदेशसभाको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने चर्चाका माझ एमालेले त्यसप्रति आपत्ति जनाएको थियो।
उसका कतिपय नेताले सत्ता हस्तान्तरणको बाटो खुला गर्न प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने माग गरिरहेका छन्।

प्रतिक्रिया