Nepal security forces tighten the border
विशाल चौतारी समाचार
दाङ,२०७४ मंसिर १५ शुक्रवार । नेपाल भारत सीमा सुरक्षा कडा बनाइएको छ । मंसिर २१ गते हुने प्रतिनीधिसभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै विशेष सुरक्षा अपनाईएको हो ।
फाइल फोटो
नाका क्षेत्रमा हतियार ओसारपसार हुन सक्ने तथा निर्वाचन बिरोधी शक्तिहरुको घुसपैठ हुन सक्ने खतरा रोक्न सशस्त्र प्रहरीले हरेक नाका क्षेत्रहरुमा निगरानी बढाउनुका साथै विशेष ‘अप्रेशन’ थालेको छ।
नेपालको सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षामा खटिएका भारतीय सीमा बलले संयुक्त रुपमा नाका क्षेत्रको सुरक्षा ब्यवस्था कडाई गरेका हुन्।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट कोईलावासका प्रमुख सशस्त्र प्रहरी निरीक्षक ईश्वर डिसीले भने ‘नाका क्षेत्रहरुबाट निर्वाचन विरोधी गतिविधी नहोओस् भनेर हामीहरुले विशेष सुरक्षा रणनीति अपनाईरहेका छौँ।’
उनका अनुसार नाकाबाट नेपाल भारत आवत जावत गर्ने नागरिकहरुको चेक जाँचमा अत्यधिक कडाई गरिएको छ। यसैगरि हरेक नाकाहरुमा सशस्त्र प्रहरीले ‘सर्च अप्रेशन’ चलाएको छ। ‘हामीहरुले नेपाल भारत आवत जावत गर्ने हरेक नाकाहरुमा चेकजाँच कडाई गर्नुका साथै नाका क्षेत्रहरुमा विशेष गस्ती टोली परिचालन गरेर सुरक्षा निगरानीलाई बढावा दिएका छौँ,’उनले भने ‘नेपालको निर्वाचन सुरक्षाका लागि भारतसंग जोडिएका सीमा क्षेत्र चुनौती बन्ने छैनन्, हामी यसका लागि पुरै शक्ति परिचालन गरेका छौँ।’ उनका अनुसार अहिलेसम्म नाका क्षेत्रमा निर्वाचन बिरोधी कृयाकलाप फेला परेको छैन। ‘हामीहरु सीमा सुरक्षाकै लागि खटिएका प्रहरी हौँ,’उनले भने ‘तर पछिल्लो एक हप्ता यता हाम्रो सकृयता झनै बढाएका छौँ,’उनले भने ‘रातविरात नभनेरै २४ सै घण्टा सर्च अप्रेशन गरिरहेका छौँ।’
नेपाल भारत सीमा क्षेत्र पर्ने दाङको ८३ किलोमिटर क्षेत्र यातायात सेवाबाट बञ्चित छ । कोईलावास बाहेक अरु सबै नाकाहरुमा पुग्न पैदल हिँड्नु पर्छ । यातायातको चरम असुविधा रहेको नाका क्षेत्रको सुरक्षामा यसले पनि प्रभाव पारेको छ । भनेको समयमा सुरक्षा निकाय समेत सबै ठाउँमा पुग्न सक्ने अवस्था छैन । ‘जुन नाका पुग्नका लागि पनि पैदलै हिँड्नु पर्ने वाध्यता छ,’डिसी भन्छन् ‘यातायातको असुविधाले पनि चुस्त सुरक्षा व्यवस्थापनमा समस्या बनेको छ।’
यसैबीच निर्वाचन सुरक्षाका लागि अति सम्वेदनशिल मानिएका नेपाल भारत सीमा १८ मंसिर देखि सील गरिने भएको छ। हात हतियार भित्रन सक्ने तथा निर्वाचन विरोधी शक्तिहरु चलखेल गर्न सक्ने भएकाले नाका सील गरिने स्थानीय प्रशासनले जनाएको छ । १८ गते सील गरिने नाका निर्वाचन सकिएपछि खुल्ला गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया