Political news
विशाल चौतारी समाचार
सुर्खेत,२०७४ कात्तिक २६ आइतवार । सुर्खेत चौकुने गाउँपालिका–३ सोभानचौरमा प्रतिनिधिसभाका उम्मेदवार नवराज रावत मतदाता भेट्न खेतमै पुगे । र खेत जोतिरहेका मतदातालाई भोट मागेर फकाउँदै गोरु आफैंले जोते । त्यो देखेर स्थानीय मतदाता हर्षित बने ।
जिल्लाकै विकट धनरास, लगामलगायतका गाउँका खेतबारीमा गोरु जोत्दै गरेका मतदातालाई भेट्न उम्मेदवार पुगेका थिए । धान काटेर हिउँदे बाली लगाउन व्यस्त किसानका खेतबारीमै पुगेका रावत आफैंले हलो समातेर आफू पनि किसानकै छोरा भएको सन्देश दिए । ‘चुनावमा मत माग्न खेतमै उम्मेदवार आएको कहिल्यै जानेको थिइनँ,’ सोभानचौरका स्थानीय केशर नामजालीले भने, ‘अहिले खेतमै उम्मेदवार आएर मलाई भोट दिनुस् है भनिरहेका छन् ।’ चुनावका बेला खेतमै नमस्कार गर्दै आउने उम्मेदवारलाई जितेपछि गाउँ नबिर्सन मतदाताले सुझाएका छन् ।
सदरमुकाम पुग्न झण्डै १ दिन लाग्ने बाध्यता रहेको उक्त क्षेत्रका बासिन्दाले कृषिभन्दा विद्युत, सडक, स्वास्थ्य र शिक्षामा जोड दिन उम्मेदवारलाई सुझाएका छन् । ‘वर्षाका ६ महिना सडक ठप्पै हुन्छ । हामीले प्रदेशको सम्भावित राजधानी सुर्खेत जिल्लाका स्थायी बासिन्दा भएको अनुभूति गर्नै पाएका छैनौं,’ स्थानीय विमला रानाले भनिन् ‘अब जित्ने उम्मेदवारलाई सदरमुकामसम्मको कालोपत्रे बाटो हाम्रो मुख्य माग हो ।’ त्यहाँका मतदाताले सडकलाई केन्दीय योजनामा पारि विकास गर्न, २५ शय्याको अस्पताल, कृषिमा आधुनिकीकरण, जलविद्युत्लाई चुनावी एजेण्डा बनाएका छन् ।
प्रतिक्रिया