Bisal Chautari Logo

राष्ट्रको चौथो अङ्ग मानिने पत्रकार नै निर्घात कुटिए प्रहरीबाट

- २३ कार्तिक २०७४, बिहीबार ०९:१७ मा प्रकाशित


The police beat the journalist
विशाल चौतारी समाचार
अर्घाखाँची,२०७४ कात्तिक २३ बिहीबार । अर्घाखाँचीमा राष्ट्रको चौथो अङ्ग मानिने पत्रकार नै नेपाल प्रहरीबाट निर्घात कुटिएका छन् । स्थानीयवासीहरुको सामान्य विवाद मिलाउने क्रममा प्रगतिशील पत्रकार सङ्घ जिल्ला कार्यसमिति अर्घाखाँचीका सदस्य, नेपाल पत्रकार महासंघका साधारण सदस्य, सामुदायिक रेडियो अर्घाखाँचीका समाचारदाता तथा सुपादेउराली केवल नेटवर्कका सञ्चालक दामोदर केसीमाथि बुधवार बेलुकी प्रहरीले कुटपिट गरेको हो ।
उक्त घटनापछि प्रगतिशील पत्रकार सङ्घ नेपाल, अर्घाखाँचीले प्रेस विज्ञप्ति निकालेको छ । प्रेस विज्ञप्ति प्रहरीले वस्तुगत स्थिति नबुझी अमानवीय शैलीमा अन्धाधुन्द लाठीचार्ज गरेको र पत्रकार केसीको टाउकोमा चोट लागेको उल्लेख गरेको छ । पत्रकारको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ । प्रहरीको यस्तो अमानवीय शैलीको प्रगतिशील पत्रकार सङ्घ, अर्घाखाँचीले घोर निन्दा र भत्र्सना गरेको छ ।
अध्यक्ष विनोद गैरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रको चौथो अङ्ग मानिने पत्रकारहरु नै नेपाल प्रहरीबाट यसरी बिनाकारण कुटिनुले नेपाली जनताका हक र अधिकार प्रहरीले नै कुण्ठित गरेको महसुस गर्दै घटनामा संलग्न प्रहरीलाई कडाभन्दा कडा कारबाहीको माग गर्दछौँ ।” विज्ञप्तिमा घाइते केसीको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।

 

प्रतिक्रिया