narayan puri back to nepal from america
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ कात्तिक १९, आइतबार । केही समयदेखि अमेरिका बसोबास गर्दै आएका नेपाली चलचित्रका लोकप्रिय निर्देशक नारायण पुरी नेपाल फर्कीएका छन् । नेपाली कलाकारहरु बिदेश पलायन हुनेक्रम बढिरहेकाबेला पुरी भने नेपाल फर्किएका हुन । निर्देशक पुरी नेपाल फर्किए लगतै पुन: नेपाली कला क्षेत्रमा सक्रिय भएका छन् । यसअघि हिमालय टेलिभिजनमा प्रमुख कार्यकारी र कार्यक्रम निर्माता रहेका पुरीले नेपालमै केही गर्ने सोचका साथ नेपाल फर्किएको प्रतिक्रिया दिए । उनले अन्य नेपाली कलाकारहरुलाई पनि बिदेश पलायन नभइ स्वदेशमै केही गर्न सुझाव पनि दिए ।
आधा दर्जन भन्दा बढी सफल नेपाली चलचित्र निर्देशन गरीसकेका पुरी नेपाली टेलिभिजन इतिहासमै पहिलो पटक पृथक टेलिभिजन शो ‘सुत्रधार’ मार्फत पुन: टेलिभिजनको पर्दामा देखिने भएका छन् । हिमालय टेलिभिजन मार्फत प्राशारण हुने उक्त कार्यक्रम पुरीले नै संचालन गर्ने छन् । यसअघि पुरीले हिमालय टीभीमै संचालन गरेको कार्यक्रम ‘जीवन साथी’ निकै सफल र चर्चित मानिन्छ । पुरीले आगो, पापी लगायत थुप्रै सफल नेपाली कथानक चलचित्र निर्देशन गरेका छन ।
कात्तिक २९ गते बुधवार साँझ ७ बजे प्रशारणको तयारीमा रहेको कार्यक्रम सुत्रधारको निर्देशन सुदिप खनालले गरेका छन् । कार्यक्रमको लेखन राजेश ढकाल र निर्माताको भुमिका निर्जल बस्नेतले निर्बाह गरेका छन् । निर्माण संयोजक न्यान्सि अग्रवालको छ । कार्यक्रम मार्फत नेपाली समाजमा हुने गरेका सबै प्रकारका यथार्थपरक घटनालाई बाहिर ल्याइने निर्देशक खनालले जानकारी दिए ।
प्रतिक्रिया