bye bye parliament
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज २८ शनिवार । आज (शनिवार) मध्यरातिबाट विधिवत रूपमा संसद बिघटन हुदैछ । चार वर्षअघि ०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित भएर आएका सभासदले ०७२ असोजमा संविधान जारी गरका थिए।
संसद्को कार्यकाल समाप्त भएपछि संसद् सचिवालयले शनिवार सांसदहरूको बिदाइ गर्ने भएको छ । संसद्को अन्तिम बैठक शुक्रवार बसेको थियो ।संसद् सचिवालयका प्रवक्ता भरत गौतमका अनुसार प्रधानमन्त्रीसहित दलका शीर्ष नेता र सभामुखले सम्बोधन गर्न शनिवार बैठक बस्ने, फोटो सेसन गर्ने र साँझ रात्रिभोजसहित सांसदको बिदाइ गरिने भएको छ ।
कार्यकाल सकिएका सांसदले ‘संविधानसभा सदस्य’को पहिचानसहितको विशिष्ट लोगो पाउने भएका छन् । पहिलो र दोस्रो संविधानसभाका सबै सदस्यलाई लोगो दिइने संसद् सचिवालयले जनाएको छ ।तर, पूर्वसभासद्हरूले मागेका अन्य सुविधा भने नपाउने भएका छन् ।
उनीहरूले सरकारी अस्पतालमा निःशुल्क स्वास्थ्योपचार हुनुपर्ने, बहालवाला सांसदसमान मर्यादाक्रम हुनुपर्ने र विशिष्ट लोगो दिनुपर्ने माग गरेका थिए । तर, कानुनी आधारविना पूर्वसभासद्हरूलाई सुविधा दिन नसकिने भन्दै संसद् सचिवालयले लोगो मात्र दिन सक्ने अडान राखेको थियो ।
सांसदले कार्यकाल सकिएपछि पनि बाटोखर्चबापत एक महिनाको तलब पाउने छन् । विगतमा पनि कार्यकाल समाप्तिपछि सांसदलाई यस्तो सुविधा दिने गरिएको संसद् सचिवालयले जनाएको छ ।
प्रतिक्रिया