Bisal Chautari Logo

५० करोडले पोखराबाट काठमाडौँ मात्र पुगि देवी भुजेल

- २२ आश्विन २०७४, आईतवार ०८:४४ मा प्रकाशित


Police arrested Thapa couple  in Kathmandu
विशाल चौतारी समाचार
पोखरा २०७४ असोज २२ आइतबार । पोखराबाट ५० करोड ठगेर गत भदै १४ फरार भएकी देवी भुजेल (थापा) काठमाण्डौँबाट टाढा भाग्न सकेन । उनलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाको चाउथे स्वागतनगरमा बस्दै आएकी भुजेल ५० करोड भन्दा बढी रकम ठगेर परिवारसहित भागेकी थिइन ।
यति ठुलो रकम उठाएर दुई छोरी, एकछोरा र श्रीमान् सहित भागेकी भुजेललाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले काठमाण्डौंको प्रहरीको सहयोगमा काठमाण्डौं महानगरपालिका वडा नम्बर २३ मञ्जुश्रीबाट पक्राउ गरेको हो । बिहीबार साँझ देवी र उनका श्रीमान् लक्ष्मणलाई पक्राउ गरेको हो । दुवै दम्पतीलाई प्रहरीले शुक्रवार बुद्ध एयरबाट पोखरा ल्याएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी खड्कबहादुर खत्रीका भने ‘शुक्रवार काठमाडौँबाट ल्याएका छौँ, हिरासतमा राखेर थप अनुसन्धान गरी रहेका छौ, बाह्र,पन्ध्र जनाको लिखित निवेदन परेको छ, मौखिक निबेदकहरुको सङ्ख्या ठुलो छ ।’ शुक्रबारनै अदालतबाट ठगी मुद्धामा म्याद थपगरी थप अनुसन्धान अगाडि बढाएको डिएसपी खत्रीले बताए ।
स्याङजाको फेदीखोला गाउँपालिकाको भाटखोला घर भई लामो समयदेखि पोखरामा बस्दै आएकी भुजेल (थापा)ले घरजग्गा र प्लटिङ्गको काम गर्दै आएको रवाफकै भरमा पोखराका विभिन्न व्यवसायी, आफन्त, छिमेकी र साथी संगीहरुबाट ठुलो रकम उठाएर भागेकी थिइ्न ।
भुजेलले आफू बस्दै आएको घरधनी शोभा लम्साल सँग समेत १० लाख रुपैंया सापटी लिएर भागेकी थिइन् । उनले प्रति व्यक्ती ५ लाखदेखि २ करोड सम्म रकम विभिन्न प्रयोजनकोलागि भन्दै सापटी लिएर भागेको पीडितहरुले बताएका छन् । भुजेलले विभिन्न व्यक्तीहरूसँग जग्गाको कारोबार र श्रीमानलाई अमेरिका पठाउनकोलागि भन्दै रकम सापटी लिएको पीडितहरु बताउँछन् ।
भुजेलबाट ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा ५२ जनाले सामूहिक उजुरी दिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया