Bisal Chautari Logo

देवनारायणलाई तत्काल छुटाउन गृहमन्त्रीको निर्देशन

- १६ आश्विन २०७४, सोमबार १०:२० मा प्रकाशित


Home Minister directed to leave Devanarayan immediately
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १६ सोमबार । सप्तरीको तिलाठीका देवनारायण यादवलाई छुटाउने पहल गर्न गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सप्तरीका सिडिओलाई निर्देशन दिएका छन् ।
उनले सप्तरीका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेलाई टेलिफोन गरी भारतीय अधिकारीहरुसँग समन्वय गरी यादवद्वयलाई यथाशिघ्र नियन्त्रण मुक्त गर्न निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारीको स्तरबाट रिहाई नभए सरकारले कुटनीतिक पहल सुरु गर्ने गृहमन्त्री शर्माको भनाइ छ ।मन्त्री शर्माले भने, भारतका प्रहरी प्रशासनसँग समन्वय गरेर जतिसक्दो छिटो रिहा गर्न भनेको छु । यदि त्यसरी भएन भने सरकारले कुटनीतिक पहल सुरु गर्छ ।
भारतीय प्रहरीले सीमा नजिकको भारतीय बजारबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन गएका देवनारायणलाई पनि प्रहरीले पक्राउ गरेको थियो । भारतीय प्रहरीले देवनारायण र उनको छोरा अजयलाई दुई दिनदेखि नियन्त्रणमा लिएर राखेको छ । देवनारायणको छोरा अजयले भारतीय युवतीसँग बिहे गरेको तर, भारतीय पक्षले युवतीलाई अपहरण गरेको भन्दै उजुरी गरेपछि भारतीयले उनीहरुलाई पक्रेको बताइएको छ । यादव बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ ।
भारतीय प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएपछि सामाजिक सञ्जालहरुमा भारतीय पक्षको आलोचना बढेको छ । भारतीय युवती भगाएको आरोपमा भारतीय प्रहरीले अजयलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई अपहरण सम्बन्धि मुद्दा चलाइएको छ ।
गत वर्ष सप्तरीको तिलाठीका बासिन्दाले खाडो नदीमा भारतीय पक्षले एकतर्फी बाँध लगाउँदा डुबानमा परेको भन्दै त्यसको प्रतिकार गरेका थिए । प्रतिकारका क्रममा देवनारायण गम्भीर घाइते भएका थिए । सोही काण्डले गर्दा चर्चामा आएका देवनारायणलाई छुटाउने पहल गर्न गृहमन्त्री शर्माले सप्तरीका सिडिओ भागीरथ पाण्डेलाई निर्देशन दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पक्राउ परेका बाबुछोरालाई सुपौल जिल्लाको बीरपुर थानामा राखिएको छ । केटी भगाएको काण्डमा उजुरी परेपछि पक्राउ परेका उनीहरुको बुझ्ने काम भइरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले बताए । गृहमन्त्रीको शर्माको निर्देशनपछि प्रजिअ पाण्डेले पहल थालेको हुन् ।

प्रतिक्रिया