Bisal Chautari Logo

पूर्वप्रधानमन्त्रीलाई पाँच वर्षको जेल सजाय

- १२ आश्विन २०७४, बिहीबार ०७:४४ मा प्रकाशित


Prime Minister punished for five years
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ असोज १२ बिहिबार । थाइल्यान्डकी पूर्वप्रधानमन्त्री यिङ्लक सिनावात्रालाई पाँच वर्षको जेल सजाय सुनाइएको छ । ‘आपराधिक लापरवाही’मा उनलाई दोषी ठहर गरिएको हो । सिनावात्राको अनुपस्थितिमै सर्वोच्च अदालतले सजाय सुनाएको हो ।
चामलमा अनुदान योजनाको दुरुपयोग गरेको अभियोग उनीविरुद्ध लगाइएको छ, जसको लागत आठ अर्ब डलर थियो ।उनलाई सन् २०१४ मा सैनिक विद्रोहमार्फत् सत्ताबाट हटाइएको थियो । त्यसलगत्तै उनीविरुद्ध भ्रष्टाचारको आरोप लगाइएको थियो । आफूविरुद्ध लगाइएका सबै आरोप सिनावात्राले अस्वीकार गर्दै आएकी छन् ।
सिनावात्रा ग्रामीण क्षेत्रका बासिन्दा र गरीब मतदाताबीच लोकप्रिय छिन् । अदालतमा भएको सुनुवाइका क्रममा उनले उक्त योजनाको दैनिन्दिन ‘अपरेसन’मा आफू जिम्मेवार नरहेको तर्क गरेकी थिइन् । र, आफू राजनीतिक उत्पीडनको शिकार बनेको बताएकी थिइन् ।
उनी सन् २०११ मा प्रधानमन्त्री बनेकी थिइन् । ग्रामीण गरीबी उन्मुलनका लागि सरकारले उनको कार्यकालमा दुई पटक बजारको भुक्तानी फिर्ता दिएको थियो ।उक्त योजनाका कारण थाइल्यान्डबाट चामल निर्यात प्रभावित बनेको सैनिक सरकारको दाबी रहँदै आएको छ । र, आठ अर्ब डलरको नोक्सानी भएको बताउँदै आएको छ ।
भ्रष्टाचार गर्नकै लागि उक्त योजना ल्याइएको दाबी सिनावात्राका विरोधीहरुको छ ।उनी कहाँ बसेकी छन् भन्ने स्पष्ट छैन । उनका दाजु तथा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा दुबईमा रहेकाले उनी पनि त्यहीं हुन सक्ने अनुमान छ । थाक्सिनविरुद्ध पनि सैन्य सरकारले भ्रष्टाचारको आरोप लगाएको छ ।
दाजुलाई जेल सजाय सुनाइएपछि यिङ्लक राजनीतिमा प्रवेश गरेकी हुन् । विरोधीहरुले दाजुकै प्रतिनिधिका रुपमा उनलाई औंल्याउने गरेका थिए । दुवै दाजु(बहिनी ग्रामीण र गरीब मतदातामाझ लोकप्रिय छन् । तर, सम्भ्रान्त वर्गले उनीहरु राजनीतिमा संलग्न भएको रुचाएको थिएन ।सुनुवाईका क्रममा अदालतमा उपस्थित हुन नसकेपछि यिङ्लकविरुद्ध पक्राउ आदेशसमेत जारी गरिएको थियो ।रासस

प्रतिक्रिया