political news
विशाल चौतारी समाचार
वीरगंज, २०७४ असोज १० मंगलबार । वीरगंज महानरपालीकाको मतगणना दशैंमा पनि नरोकिने भएको छ । वीरगंज दुई नम्बर प्रदेश एक मात्र महानगरपालीका हो । दशैंको लागि बुधबारदेखि सबै सरकारी तथा निजी कार्यालयहरु बन्द हुँदैछन्। तर वीरगंजमा भने मतगणना जारी रहने मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए।
फाइल फोटो
हाल वडा नम्वर १४, १६,१७ र १८ को मतगणना शुरु भएको छ। राजनीतिक दलहरु बीच सहमति हुन नसक्दा यी वडाको मतगणना प्रभावित बनेको थियो।
१ लाख ८ हजार ५ सय १ कूल मतदाता रहेको महानगरमा ३२ वडा छन्। यहाँ ८४ हजार ३ सय १२ मत खसेको थियो । गत असोज ३ गते दिउँसो २ बजेदेखि शुरु भएको मतगणना मंगलवारसम्म २९ वडाको ७१ हजार २ सय ९३ मत गणना भइसकेको छ। बाँकी १० हजार मत मात्रै गन्न बाँकी छ। हाल मतगणना चलिरहेको वडा नम्वर १४ पिपरा र १५ लक्षुमानवाको मतगणना केही घण्टामै सकिने मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए।
उनले दैनिक ६ हजारकै हिसाबले गणना गरियो भने दुई दिनमै गणना सकिने दावी गरेका छन्।
१४ र १५ नं वडाको मतगणना सक्न निर्वाचन आयोगको पत्र र निर्देशनलाई मध्यनजर तथा राजनीतिक दलको समझदारी बमोजिम अघि बढने कर्मचारीहरुको तयारी छ।
कांग्रेसले मतगणना भएका १६ ,१७ र १८ वडा बाहेकका सबै वडामा मेयर र उपमेयरको पुनः मतगणना गर्नु पर्ने माग राख्दै जिल्ला निर्वाचन कार्यालय पर्सा मार्फत निर्वाचन आयोगमा निवेदन दिएको छ
मतगणनामा धाँधली र कलमको ठाउँमा सिसाकलमको प्रयोग गरिएको तथा मुचुल्का भन्दा बढी मतपत्र केही वडामा फेला परेपछि निर्वाचन प्रकृया छानविन र पुनः मतदानको लागि निर्वाचन आयोगमा निवेदन परेको छ।
प्रतिक्रिया