Bisal Chautari Logo

‘तेस्रो चलचित्रमा हिरो भएँ’

- ६ असार २०७०, बिहीबार १३:५९ मा प्रकाशित


-जीवन लुइँटेल, अभिनेता 

मैले पहिलोचोटि क्यामेरा फेस गरेको चलचित्र तिर्खा हो । निर्मल केसीद्वारा निर्देशित यो चलचित्रबाट म खासै दर्शकमाझ चिनिइनँ । त्यसपछि सपोर्टिङ क्यारेक्टरका रूपमा आलोक नेम्वाङ निर्देशित सानो संसार मा काम गरेँ । यसबाट दर्शकले मलाई चिने ।

मैले फुल फेज एक्टरका रूपमा डेब्यु पाएको चलचित्रचाहिँ नसिब आफ्नो हो । हिरोका रूपमा धीत मर्ने गरी काम गर्न पाएको यसैमा हो पहिलोचोटि । विकास आचार्य निर्देशित यो चलचित्रमा हिरोले जस्तै गीत गाउने, हिरोइनसँग नाच्ने, गुन्डासँग फाइट खेल्नेजस्ता अनुभव मेरा लागि पहिलो थिए । यसैलाई मेरो डेब्यु चलचित्र मानेर सन् २०१० को केटिभी अवार्डमा मलाई बेस्ट डेब्यु एक्टरको अवार्ड दिइएको थियो ।
बच्चैदेखि कलाकार बन्ने सोख थियो मेरो । मोडलिङ यात्रा त्यसका लागि प्लेटफर्म बन्यो । २४ वर्षको उमेरमा २००२ मा मिस्टर नेपाल भएपछि मेरो चलचित्रयात्राको ढोका पनि खुलेको थियो ।
नसिब आफ्नोमा चलिरहेका कलाकार रेखा थापा र विराज भट्ट पनि थिए । म नयाँ कलाकार थिएँ । पहिलो सट पुरानो बानेश्वरको कुमारी कम्प्लेक्सबाट सुरु गरिएको थियो । जिस्किने टाइपको सिन थियो । मलाई डाइलगचाहिँ खासै याद छैन । त्यो सट करिब चार टेकमा ओके भएको थियो । सो चलचित्रमा निर्देशकको खप्की अलिअलि खानुपरे पनि अहिले त याद छैन, बिर्सिसकेँ । उति बेलाका चर्चित नायक विराजसँग काम गर्न पाउँदा रमाइलो लागिरहेको थियो । उहाँले चलचित्रमा मेरो दाइको रोल गर्नुभएको थियो । मुख्य पात्र आपैँm भएकाले काममा बढी नै सजग थिएँ । क्रेजी लभरब्वाइको भूमिकामा थिएँ, केटीलाई मनको कुरा भन्न नसक्ने तर पछिचाहिँ दौडिरहने ।
काठमाडौंवरिपरि अनि कुलेखानीमा त्यो चलचित्र छायांकन गरियो । एउटा गीतको सुटिङको क्षण मेरालागि अविस्मरणीय रह्यो  । तिमीलाई मन पराउँछु, तिमीसँगै माया लाउँछु नाइँ नभन्नु ल बोलको गीत । त्यसको छायांकन स्थल कार्पेटजसरी मिलेको दूबोको चौर थियो । त्यो ठाउँमा भूतले तर्साउँछ भन्ने पारम्परिक कथन रहेछ । मलाई पनि कताकता डर लागेको थियो ।
एउटा फाइटको सिनमा जोखिम मोल्नुपर्ने अवस्था थियो । जहाँ टाउकोमा हानेर बियरको बोतल फुटाउनुपर्ने थियो । मलाई अचम्म लाग्यो– बियरको बोतल फुट्ने गरी टाउकोमा हान्दा टाउकोचाहिँ बाँकी बस्ला त ? कसरी गर्ने होला यस्तो काम † तर, फाइट डाइरेक्टरले एकदमै राम्रो टेक्निक लगाएका हुँदा रहेछन् । बोटललाई पहिला पानीमा हालेर उमाल्दा रहेछन्, अनि त्यसमा हल्का क्य्राक पार्दा रहेछन् । यसो गर्दा त्यो कतै छुनासाथ झर्‍यामझुरुम जाँदो रहेछ । माथिबाट कस्सिएर हानेजसरी लैजाने अनि टाउकोमा लाग्ने बेलामा चाहिँ विस्तारै छुवाउने । सो चलचित्रमा ८ वटाजति फाइट सिन छन् । रिहर्सलका क्रममा फाइट डाइरेक्टर शंकर महर्जनले हानेको किक रोक्न नजान्दा टाउकामा लागेर रन्थनिएँ अनि तीन फन्को घुमेँ ।
करिब ३० दिन सुटिङ चलेको यो चलचित्रबाट मैले ९१ हजार क्यास बुभेँ । तिर्खा र सानो संसारबाट ३५ हजार अनि मेरो एउटा साथी छ बाट ६५ हजार पाएको थिएँ । नसिब आफ्नो मलाई अरू चलचित्रमा अवसर पाउने बाटो खोलिदियो । त्यसपछि नाइँ नभन्नु लदेखि नोटबुकसम्म आइपुग्दा १७ वटा मुभी गरिसकेँ ।

प्रस्तुति विशाल राई

प्रतिक्रिया