Bisal Chautari Logo

एक नेपालीको दैनिक आम्दानी १७१ रुपैया

- २९ असार २०७०, शनिबार ०६:१८ मा प्रकाशित


५२ रुपैयाभन्दा कम आम्दानी गर्नेको संख्या २३.८ प्रतिशत

असार, २९ काठमाडौं । एकजना नेपालीको दैनिक आम्दानी सरकारले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार औसतमा १ सय ७१ रुपैयाँको हाराहारीमा रहेको छ । तर, दिनमा ५२ रुपैयाँभन्दा कम आम्दानी भएका गरीबहरुको संख्या भने नेपालमा कूल जनसंख्याको २३।८ प्रतिशत रहेको छ ।
तीनवर्षे आवधिक योजना बनाउने क्रममा यसैसाता नेपाल सरकारले १० वर्षमा नेपाललाई विकासशील राष्ट्रमा उकाल्ने दाबी सार्वजनिक गरेको छ । तर, विश्व बैंकले तयार गरेको मापदण्डअनुसार विकासशील मुलुकमा स्तरोन्नति हुनका लागि प्रतिव्यक्ति वाषिर्र्क आय १२ सय डलरको हाराहारीमा पुग्नुपर्छ । अहिले नेपालीको प्रतिव्यक्ति वाषिर्क आम्दानी ७ सय १७ डलरमा सीमित छ ।
अर्थमन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७० अनुसार चालु आर्थिक वर्षमा नेपालीको वाषिर्क प्रतिव्यक्ति ६२ हजार ५ सय १० अर्थात् ७ सय १७ अमेरिकी डलर पुग्ने देखिएको छ । कूल ग्राहस्थ उत्पादन ९जीडीपी० को आधारमा उक्त आय देखिएको हो । यस आधारमा नेपालीको औसत दैनिक आय सरदर १ सय ७१ रुपैयाँ हुन्छ । त्यसमध्ये ५२ रुपैयाँभन्दा कम आम्दानी गर्नेको संख्या कुल जनसंख्याको २३।८ प्रतिशत रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
त्यसैगरी, सरकारले तिर्न बाँकी ऋण कूल ग्राहस्थ उत्पादनको ३०।१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणले उल्लेख गरेको छ । गत वर्ष ३४।१ प्रतिशत रहेकोमा यो वर्ष घटेको हो । सक्षम सरकारी संयन्त्र भएका मुलुकमा यस्तो ऋण जीडीपीभन्दा बढी हुनु पनि स्वाभाविक मानिन्छ भने ऋणको सही सदुपयोग गर्न नसक्ने नेपालजस्तो मुलुकमा एक तिहाइसम्म उपयुक्त मान्ने गरिन्छ । कूल ऋणमध्ये वैदेशिक ऋणको अनुपात १७।६ प्रतिशत रहेको छ । गत वर्ष यस्तो अनुपात २०।१ प्रतिशत थियो । आन्तरिक ऋणको अनुपात १२।४ प्रतिशतमा झरेको छ ।
त्यसो त एकै दिनमा हजार रुपैयाँभन्दा बढी कमाउने नेपालीहरु पनि नभएका चाहिँ होइनन् । तर, सीमित व्यक्तिहरुको आम्दानी उच्च भए पनि औसत आयमा हिसाब गर्दा एक नेपाली बराबर दैनिक औसत आय १ सय ७१ को हाराहारीमा देखिएको हो । यस्तो औसत आयको तथ्यांकले नेपालीहरुको समग्र अवस्था भने चित्रण गर्दैन । नेपालीहरुवीच आयस्तरमा ठूलो असमानता छ भन्ने कुरा दैनिक ५२ रुपैयाँभन्दा कम आय हुने नेपालीको संख्याले प्रष्ट पारेको छ ।

प्रतिक्रिया