Bisal Chautari Logo

सोलुखुम्बुबाट दौडिदै राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा जम्दै मनिका

- १५ श्रावण २०७०, मंगलवार १२:११ मा प्रकाशित


मनिका प्रतियोगितामा भाग लिन स्वीजरल्याण्ड र फ्रान्स जादै

प्रकाश खालिङ
१५ साउन काठमाडौ । ‘हजार माइलको लामो बाटो, एक पाइलाबाट सुरु हुन्छ ।’ त्यसोत हरेक गन्तव्य चुम्नका लागि यात्राको सुरुवात हुनैपर्दछ । यात्राको क्रममा सहज र असहज भन्ने कुरा भने परिस्थितिले निर्धारण गर्ने हो । मान्छेको जीवन यात्रा पनि त्यस्तै हो । एक ठाउँमा बसेर कल्पनामा मात्रै यात्रा तय गरिए किमार्थ गन्तव्य चुम्न सकिन्न, यात्रा सुरु गरेपछि त्यसबाट एउटा प्रतिफल हासिल हुन्छ ।
एउटा दुर्गम गाउँमा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा आफुलाई परिचित गराउनु कम चुनैतिको कुरा होइन । तर, इच्छाशक्ति भए जस्तोसुकै चुनौतिलाई पनि अवसरमा बदल्न सकिन्छ, यस्तै उदाहरण बनेकी छिन् मनिका खालिङ । सोलुखुम्बु जिल्लाको टाक्सिन्दु गाविसमा जन्मिएकी मनिका खालिङ अहिले अल्ट्राधावकको रुपमा परिचित हुँदै गरेको नाम हो । सन् २००९ देखि विभिन्न म्याराथनमा भाग लिदै आएकी मनिकाले भाग लिएको अधिकांश प्रतियोगितामा कुनै न कुनै स्थान हासिल गरेकै छिन् ।
उनले हालसम्म दर्जनभन्दा बढि अवार्ड (सम्मान) पाइसकेकी छिन् । स्कुले जीवनदेखि नै साहासिक खेलतर्फ रुचि राख्ने उनी कलेज प्रवेशपछि एका एक जम्न थालेकी हुन् । सन् २००९को तेन्जिङ हिलारी एभरेष्ट म्याराथन प्रतियोगितामा भाग लिदा यो क्षेत्रको बारेमा मनिकालाई कमै मात्र ज्ञान थियो र इच्छा शक्ति पनि । जब तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २००९ मा भाग लिए त्यसपछि उनले यस क्षेत्रमा पनि भविष्य छ भन्ने बुझिन् । उक्त प्रतियोगितामा  उनी  पाँचौ भइन र त्यसपछि धमाधम विभिन्न प्रतियोगितामा भाग लिन थालिन् । प्रतियोगितामा भाग लिने क्रममा सन् २०१० मा पुन: तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा भाग लिइन् । त्यसमा पनि पाँचौं स्थान हासिल गरिन् । अन्नपूर्ण अल्ट्रा म्याराथन–२०११ (५० कि.मि.) प्रतियोगितामा  द्धितिय स्थान हासिल गरिन् । त्यस्तै उनले अन्नपूर्ण मण्डला ट्रायल २०१२ मा प्रथम र अन्नपूर्ण मण्डला ट्रायल प्रतियोगिता २०१३ मा पनि प्रथम स्थान हासिल गरेकी थिइन भने थ्रि भ्याली अल्ट्रा म्याराथन २०१३ मा प्रथम स्थान हासिल गरेकी थिइन् । त्यसैगरी एभरेष्ट स्काई रेस ३५०कि.मि.)प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी थिइन् । प्रतियोगिताको क्रममम अन्तरकलेज प्रतियोगितामा दुई चोटी जित हात पारिसकेकी छिन् ।

नेपालमा मात्रै नभएर अन्तराष्ट्िरयस्तरको प्रतियोगितामासमेत उनले भाग लिएर मुलुकको खेल जगतमा योगदान दिएकी छन् उनले । मनिकाले केहि समय अगाडिमात्रै हङकङको दुई वटा प्रतियोगितामा भाग लिएर पुरस्कार हात पारेकी थिइन् । हङकङमा गत मार्चमा सम्पन्न भएको भिब्रम हङकङ (१०० कि.मि.) प्रतियोगितामा पहिलो पटक चौथो र दोस्रो द्धितिय स्थान हासिल गरेकी थिइन् । त्यसको अलावा सानातिना अनगिन्ति प्रतियोगिताहरुमा उनले विभिन्न स्थान हासिल गरेकी छिन् । अहिलेसम्म मनिकाले जे जति गरेरहेकी छिन् उनको आफ्नै पौरखले गरेकी हुन् ।
मनिकाले यहि क्षेत्रमा फड्को मार्ने आँट कसिरहेकी छिन् अहिले । उनी भन्छिन् ‘गरियो भने यो क्षेत्रबाट पनि धेरै गर्न सकिन्छ । मैले आफुले जति सक्छु गर्नेछु ।’ यसो भनिरहँदा उनले खुलेरै थपिन् ‘तर नेपालमा भने खेल क्षेत्रलाई खासै प्रायोरिटी छैन त्यसकारण यस क्षेत्रमा लागेर बाँच्न चाही गाह्रो छ ।’
मनिका प्रतियोगितामा भाग लिन स्वीजरल्याण्ड र फ्रान्स जादै
स्वजरल्याण्डको जेनेभामा हुन लागेको अल्ट्रा म्याराथन प्रतियोगितामा भाग लिन मनिका यहि अगस्ट ५ तारिखमा त्यसतर्फ जादै छिन् । उक्त प्रतियोगितापछि त्यतैबाट फ्रान्समा हुने प्रतियोगिताका लागि फ्रान्स जाने कार्यक्रम रहेको मनिकाले खालिङ डट कमलाई जानकारी दिइन् । अगष्ट ५ मा गएपछि करिब तिन महिना जेनेभा र फ्रान्समै रहने र आफ्नो स्वास्थ्यले साथ दिए अरु प्रतियोगितामा पनि भाग लिन सक्ने उनले खुलाइन् । ‘तीन महिनाका लागि मैले भिजा लिएकी छु’ उनले भनिन् –‘जेनेभाको एउटा र फ्रान्सको एउटा प्रतियोगितामा भाग लिने कन्फम भएको छ । मेरो स्वास्थ्यले साथ दिए अरु प्रतियोगितमा पनि भाग लिन सक्छु ।

प्रतिक्रिया