Bisal Chautari Logo

दुई वर्ष अवधिमा हेलो सरकारमा २४ हजार गुनासो

- ३२ श्रावण २०७०, शुक्रबार १३:४६ मा प्रकाशित


३२ साउन, काठमाडौं । 
झण्डै दुई वर्षको अवधिमा हेलो सरकारमा २४ हजार हाराहारीमा गुनासो प्राप्त भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि वास्कोटाका अनुसार २०६८ कात्तिक १७ गते स्थापना भएको हेलो सरकारमा सो अवधिदेखि २०७० असार मसान्तसम्ममा २३,९८३ वटा गुनासो र उजूरी प्राप्त भएको छ । यसमध्ये २२,४४६ वटा फछयौट भै फछयौट प्रतिशत ९४ कायम भएको उनले बताए । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस सम्बन्धी छुट्टै ‘पोर्टल’ तयार गरेको छ । जस अनुसार प्राप्त गुनासोहरु विद्युतीय माध्यमद्धारा सम्बन्धित निकायमा पठाईन्छ । ती केन्द्रियस्तरका निकायमा नोडल अधिकृतहरु तोकिएका छन् । ती अधिकृतहरुलाई विशेष पहल सहित अभियानात्मक रुपमा परिचालन गरिएकोले विद्युतीय पोर्टलमा यत्रो ठूलो संख्यामा गुनासो फछयौट भएको परिणाम हात परेको हो । सचिव वास्कोटाका अनुसार हेलो सरकार संचालनको प्रथम वर्षमा प्राप्त भएमा १७,७३४ वटा गुनासो मध्ये १२०६ वटा फछयौट हुन बाँकी छ ।
मासिक झण्डै ११०० गुनासो प्राप्त भएको तथ्याँक छ । तर, हेलो सरकार स्थापनाका शुरुका महिनामा अत्याधिक संख्यामा गुनासो प्राप्त भएकोमा हालका महिनामा औषतमा ६०० देखि ८०० का दरले गुनासो प्राप्त भैरहेको पाईन्छ । केही गुनासोकर्ता व्यक्ति दोहोरिनु, समस्याको समाधान हुनु र प्राप्त गुनासोहरु फछयौटका लागि सरकारी संयन्त्रहरु थप क्रियाशीलहुनुले पनि उही प्रकृतिका गुनासो आउने क्रम रोकिएको सरकारको अनुमान छ ।
घटना दुर्घटनाकाबारेमा जानकारी दिन, उद्धारको लागि सहायता माँग गर्न, महिला हिंसाको घटना वारे सूचना दिन, सार्वजनिक सेवाको विषयमा गुनासो सुन्न र सुझाव दिन, सरकारी सेवाको प्रवाहमा देखिएको विकृति, विसगति वा अनियमिताका वारेमा उजूरी गर्न हेलो सरकारको स्थापना भएको हो । सचिव वास्कोटाका अनुसार यस अवधिमा स्वयं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्धको कार्यालयमा रहेको हेलो सरकार कक्षवाट १०२० वटा गुनासो फछयौट भएको छ ।
गृहमन्त्रालय र मोरङ जिल्ला अगाडि
सबैभन्दा वढी गुनासो गृह मन्त्रालयमा ४२६२ रहेको छ भने त्यसपछि क्रमश: शिक्षा ३०२४, स्थानीय विकास १७८९, भौतिक पूर्वाधार १६१३, वाणिज्य मन्त्रालय १११५, अर्थ ११०४ र श्रम तथा रोजगार मन्त्रालयमा १०८० वटा गुनासो रहेको छ ।
सचिव वास्कोटाका अनुसार जिल्लागत हिसावले सबैभन्दा वढी गुनासो मोरङ जिल्लाको ९०४ वटा छ भने त्यसपछि काठमाडौं ८७५, सुनसरी ५६०, चितवन ५३१, डोल्पा ५०६, सिरहा ४९४, ललितपुर ४७९, झापा ४७१, कास्की ४७३ र कपिलवस्तु ४७० वटा रहेका छन् । सबैभन्दा कम गुनासो म्याग्दी जिल्लाको १८१ वटा रहेको छ । अंंचलका हिसावले वागमती, कोशी र नारायणी अंचल सम्बन्धी वढी गुनासो छन् भने कम गुनासो रहको अंचल धौलागिरी हो । यसैगरी मध्यमाञ्चलवाट ६९९२ वटा गुनासो प्राप्त भएको थियो भने पूर्वाञ्चलवाट ५४३७, पश्चिमाञ्चलवाट ४५९८, मध्यपश्मिाञ्चलवाट ४२९२ तथा सुदुर पश्चिमाञ्चलवाट २६६४ गुनासो प्राप्त भएको वास्कोटाले जानकारी दिए । साभार : अनलाईन खबर

प्रतिक्रिया