Bisal Chautari Logo

‘रामप्यारी’ हिरोइन रेखाले ‘लालजोडी’ निर्देशक लक्ष्मणको चलचित्रमा गाइन्

- २२ पुष २०७२, बुधबार १२:२६ मा प्रकाशित


rekha thapa singing Lal Jodi Nepali Movies
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ पौष २२ बुधबार । ‘रामप्यारी’ हिरोइन रेखा थापाले ‘लालजोडी’ निर्देशक लक्ष्मण सुवेदीको चलचित्रमा एक गीत रेकर्ड गराएकी छिन् । हिरोइन हुदै निर्माता, निर्देशक र संगीतकार समेत बनेकी रेखाले पाश्र्वगायनपनि सुरुवात गरेकी छिन् । उनले पत्रकार समेत रहेका लक्ष्मण सुवेदीको ‘लालजोडी’ चलचित्रको ‘माँ कसम’ बोलको युगल गीत गायक प्रल्हाद तिमल्सिनासंग गाएकी हुन् ।

rekha thapa singing Lal Jodi Nepali Moviesतस्बिर : उत्सव

‘माँ कसम’ बोलको गीत मंगलबार पुतलीसडकस्थित आवर स्टुडियोमा रेकर्ड गरिएको थियो । थानेश्वर गौतमको संगीत रहेको सो गीत निर्देशक सुवेदी आफैले लेखेका हुन् । रेखाले निकै मिहीनेत गरेर गीत गाएको बताइन् । ‘मलाई अफर आएपछि मैले धेरै प्राक्टिस गरें,’ उनले भनिन, ‘हुन त पहिला पनि मैले गीत गाइसकेकी थिएँ । तर यत्तिको हाइ पिचको गीत भने गाएकी थिइनँ । त्यसैले धेरै मिहीनेत गर्नु पर्यो ।’ उनले शब्द र संगीत मन परेकाले गीत गाएको बताइन् ।
rekha thapa singing Lal Jodi Nepali Movies1गीत रेकर्डिङ क्रममा बोल्दै अभिनेत्री रेखाले रहर पूरा गर्ने इच्छाले मात्र गायनमा हात नहालेको दावी गरिन् । ‘म पहिलादेखिनै गाउथें । मैले रहर पूरा गर्न मात्र गाएकी होइन,’ उनले भनिन्, ‘यो गीत निकै राम्रो छ । कम्फर्म हिट हुन्छ ।’ गीत हिट भए पनि आफूले पाश्र्व गायनलाई भने जोड नदिने उनले बताइन् । पछिल्लो समय पाश्र्व गायनमा चम्किरहेका प्रल्हाद तिमिल्सिनाले पनि सुपरस्टार हिरोइनसंगै गीत गाउदा निकै रमाइलो लागेको बताए । ‘गीत निकै हाइ पीचमा भएकाले सुरुमा त आफैलाई सक्दिनँ की भन्ने लागेको थियो,’ उनले भने, ‘त्यसकारण रेखाजीलाई पनि गाह्रो पर्ला भन्ने लागेको थियो । तर उहांले निकै राम्रो गाउनु भएको छ ।’

प्रतिक्रिया