Bisal Chautari Logo

चलचित्र पत्रकारिता सम्मान विदुरलाई, पुरस्कार कृष्ण र राजलाई

- २ जेष्ठ २०७१, शुक्रबार ०२:५३ मा प्रकाशित


Nepali-Film-Journalist-bidur-giri-krishna-bhattarai-and-raj-shrestha
काठमाडौं, २०७१ जेठ, २ शुक्रवार । चलचित्र पत्रकार संघले यस बर्षको ‘चलचित्र पत्रकारिता सम्मान–२०७१’ वरिष्ठ चलचित्र पत्रकार विदुर गिरीलाई दिने निर्णय गरेको छ । साथै यस बर्षको ‘चलचित्र पत्रकारिता पुरस्कार–२०७१’ बाटै वरिष्ठ चलचित्र पत्रकारद्धय कृष्ण भट्टराई र राज श्रेष्ठलाई दिने निर्णय गरेको छ । संघका अध्यक्ष शान्तिप्रियको अध्यक्षतामा बिहिबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्षसमेत रहेका गिरी विगत २ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय रहेका छन् । उनी कामना मासिक पत्रिकाको सम्पादक र नेपाल समाचारपत्रको समाचार सम्पादकसमेत हुनुहुन्छ । सम्मानित गिरीलाई ताम्रापत्रसहित सम्मान गरिनेछ ।
त्यस्तै, चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने चलचित्र पत्रकार कृष्ण कान्तिपुर पब्लिकेशनको साप्ताहिकका वरिष्ठ उप–सम्पादक हुन्, भने अर्का पत्रकार राज श्रेष्ठ स्टार एफ एमका कार्यक्रम संयोजक एवं प्रस्तोता तथा कलिउड खबर डटकमका सम्पादक हुन् । पुरस्कृत दुई चलचित्र पत्रकारहरुलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ तथा प्रमाणपत्रसहित पुरस्कृत गरिनेछ । यस्तै चलचित्र पत्रकार संघले नेपाल पत्रकार महासंघका लागि पार्षद रहनुभएका तथा यसैपटक सम्पन्न महासंघको महाधिवेशनमा एसोसिएट सचिव पदमा अत्याधिक मतले विजयी भएका ध्रव लम्साललाई पनि विशेष सम्मान गर्ने निर्णय गरेको छ ।
चलचित्र पत्रकार संघले आगामी जेठ ७ गते चलचित्र पत्रकारिता दिवस तथा संघको स्थापना दिवसको अवसरमा आयोजना गर्ने विशेष कार्यक्रममा सम्मानित एवं पुरस्कृत पत्रकारहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिनेछ । वि.सं २०५८ सालदेखि पत्रकारिता पुरस्कार प्रदान एवं २०५९ सालदेखि चलचित्र पत्रकारिता दिवस मनाउँदै आइएको छ ।

प्रतिक्रिया