Bisal Chautari Logo

खोटाङमा नदीको पानी तान्न १० लाख

- २७ भाद्र २०७२, आईतवार ०८:२१ मा प्रकाशित


khotang news_bhupendra rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २७ आइतबार । खोटाङको दक्षिणी गाबिस लिच्कीराम्चे–७ कालापानीस्थित रसुवाघाट–कालापानी खानेपानी योजनाकालागि १० लाख बजेट छुट्टिएको छ । सुनकोसीको पानी पम्पिङ प्रबिधिमार्फत कालापानी तान्ने प्रयासस्वरुप सञ्चालन सुरु गरिएको खानेपानी योजनाकालागि यस आर्थिक वर्ष रेडबुकमा १० लाख बजेट परेको हो ।

khotang news_bhupendra rai
गत वर्ष २ लाख बजेट परेको आयोजनाकालागि यस पल्ट ८ लाख बढि बजेट परेको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए । खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोसीको पानी पम्पिङ प्रबिधिमार्फत माथि तान्ने प्रयासस्वरुप २०७० सालमा ‘डिटेल सर्भे’ गरिएको थियो । योजना सञ्चालन सुरु भएपछि गाउामा पानीको श्रोत नभएका स्थानीय नदीको पानी आउने आशामा उत्साहित छन् । वरपर भएका खानेपानीको मुहान सुकीसकेको र पानी ल्याउने अन्य बैकल्पीक श्रोत नभएको कालापानीमा रसुवाघाटबाट पानी निकाल्ने प्रयास थालिएको उपभोक्ता समितिले जनाएको छ ।
कालापानी जिल्लाकै सुक्खाग्रस्त क्षेत्रमध्ये एक हो । छिमेकी गाबिस इन्द्रेणीपोखरीबाट ल्याइएको पानीको मुहान सुकेपछि कालापानीका ११० घरपरिवार अहिले कुवा र आहालको पानी पिउन बाध्य छन् । स्थानीयबासीका अनुशार सुख्खाग्रस्त क्षेत्रकारुपमा रहेको कालापानीमा ल्याउने पानीको अन्य श्रोतको बिकल्प छैन । उनीहरुका अनुशार कालापानीमा खानेपानीको समस्या हल गर्न ‘नदीको पानी निकाल्नु वा बस्ती सार्नु’ पर्ने अवस्था छ ।
करिब एक करोडको लगानीमा पूरा हुने अनुमान गरिएको योजनाकालागि कांग्रेस नेता भूपेन्द्र राईमार्फत राष्ट्रिय योजना आयोग र यूनीसेफ लगायतका दातृ निकाय समक्ष सहयोगकालागि पहल भइरहेको उपभोक्ता समितिका अध्यक्ष राउतले जनाए । कालापानीमा नदीको पानी निकाल्ने योजना सफल भए नदीको पानी तानेर खोटाङका अन्य दर्जनौं सुख्खाग्रस्त क्षेत्रको खानेपानी समस्य हल गर्नमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया