Bisal Chautari Logo

ओस्कार अवार्डका लागि नेपालबाट ‘सुनगाभा’ छनौट

- ७ भाद्र २०७०, शुक्रबार ०७:१९ मा प्रकाशित


मनोज पण्डित निर्णयविरुद्ध अदालत जाँदै
७ भाद्र, काठमाडौ । 
चलचित्रको क्षेत्रमा विश्व चचिर्त पुरस्कार ओस्कार अवार्डका लागि नेपाली चलचित्र ‘सुनगाभा’ छनोटमा परेको छ । बिदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनौट समितीको शुक्रबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो । ‘सुनगाभा’ सहित चलचित्र ‘वधशाला’, ‘साँघुरो’, ‘शिरिषको फूल’ प्रतिस्पर्धामा थिए । छनोट समितीका अध्यक्ष बिमल पौडेलले जारी गरेको विज्ञप्तीमा ओस्कारका लागि सुनगाभालाई छनोट गर्ने निर्णय गरिएको जानकारी दिइएको छ । छनोट समितीमा लक्ष्मीनाथ शर्मा, प्रदिप उपाध्याय, राज विक्रम थापा र लोकेन्द्र पराजुली छन् ।
नेपालबाट प्रतिनिधत्व गर्दै जाने फिल्मले सबैभन्दा पहिला ओस्कारको मुख्य छनौट समितीमा आफूलाई उभ्याउनु पर्नेछ । यसपश्चात छनोट भएको खण्डमा चलचित्र सुनगाभा ८६ औ ओस्कार अवार्डको विदेशी भाषा पुरस्कारका लागि प्रतिस्पर्धामा उत्रनेछ । सुवर्ण थापाले निर्देशन गरेको यो चलचित्रमा निशा अधिकारी र दिया मास्केको मुख्य भूमिकामा छन्, भने अभिनेता सौगात मल्ल सहपात्रको रुपमा काम गरेका छन् । चलचित्रमा यि दुई अभिनेत्री समलिङगी भूमिकामा देखिएका छन् ।
मनोज पण्डित निर्णयविरुद्ध अदालत जाँदै
सुनगाभालाई ओस्करमा पठाउने निर्णय खारेजीको माग गर्दै निर्देशक मनोज पण्डितले आगामी आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्ने मेरो सिनेमालाइ बताएका छन् । विदेशी नागरिक सुवर्ण थापाले निर्देशन र निर्माण गरेको, विदेशीले लेखेको र अमेरिकामा प्रदर्शन भैसकेको फिल्म ओस्करमा जान नहुने तर्कसहित पण्डित अदालत जान लागेका हुन् ।

प्रतिक्रिया