
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ कार्तिक १९ बिहिवार। आगामी मंसिर ४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको सिनेमा ‘जलाकी’ को ट्रेलरले दर्शकमाझ निकै बलियो हाइप निर्माण गरेको छ । ट्रेलर सार्वजनिक भए लगतै सिनेमाले सामाजिक सञ्जाल र युट्युबमा दर्शक तथा समीक्षकहरूबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । साथै युट्युबको मुभिज ट्रेन्डिङ चार्टको छैटौँ स्थानमा पर्न सफल भएको छ ।
ट्रेलर हेरेपछि अधिकांश दर्शकहरूले निर्देशक अशोक थापा मगरको अघिल्लो सुपरहिट सिनेमा ‘खुस्मा’ को झल्को पाएको प्रतिक्रिया दिएका छन् । ‘खुस्मा’ जस्तै यस सिनेमामा पनि मगर समुदायको मौलिक संस्कृति, ग्रामीण परिवेश र भावनाले भरिएको गहिरो प्रेमकथाको समिश्रण देखिएकाले दर्शकहरूले यसलाई यस वर्षकै प्रतिक्षित लभ–स्टोरी सिनेमाको रूपमा लिएका छन् ।
विशेष गरी सिनेमाका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनको अन-स्क्रिन जोडी निकै मिलेको भन्दै उनीहरूको अभिनयको तारिफ भइरहेको छ । ट्रेलरमा समेटिएको उनीहरूबीचको कलेज रोमान्स र केमेस्ट्रीले दर्शकलाई निकै आकर्षित गरेको छ । यसका साथै, यसै सिनेमामार्फत नेपाली रजतपटमा डेब्यु गरेकी कलाकार सहारा हाङमा लिम्बुको अभिनयको समेत चर्चा सुरु भएको छ । पहिलो सिनेमा भए तापनि ट्रेलरमा देखिएको उनको स्वभाविक अभिनय र स्क्रीन प्रिजेन्सले दर्शकको ध्यान तान्न सफल भएको छ । त्यस्तै, पोखरा, म्याग्दी र रोल्पाका मनमोहक दृश्यहरू समेटिएको यो ट्रेलरले सिनेमा व्यावसायिक र कलात्मक दुवै हिसाबले उत्कृष्ट बन्ने बलियो संकेत गरेको छ ।
ट्रेलरमा अभिनेता सोनम तोप्देन र उपासना सिंह ठकुरी बीचको कलेज जीवनको प्रेम, क्लासरुम र लाइब्रेरीका मिठा पलहरू, तथा पछि आउने विछोड र भावनात्मक संकटलाई निकै सुन्दर ढंगमा देखाइएको छ ।
ट्रेलर अघि सिनेमाका प्रचार सामग्री ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलको तीन गीत र टिजरलाई पनि दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए ।
सिनेमाको शीर्षक ‘जलाकी’ ले मगर समुदायमा विशेष आस्था र सम्झनाको प्रतीक मानिने परम्परागत ढुङ्गाको स्तम्भलाई जनाउँछ, जसलाई निर्देशक मगरले सिनेमामा प्रेम र विश्वासको एउटा बलियो आधारका रूपमा प्रस्तुत गरेका छन् ।
उपासना, सोनम, साहारासँगै सिनेमामा शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।
सिनेमा गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।
प्रतिक्रिया