
बिशाल चौतारी समाचार
काठमाडौं, २०८३ श्रावण १७ आइतवार । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री अदिती बुढाथोकी बलिउडमा पनि आफ्नो उपस्थितिलाई थप मजबुत बनाइरहेकी छन् । यसपटक उनले बलिउड अभिनेता जहीर इकबालसँग ‘फरिश्ता’ बोलको नयाँ म्युजिक भिडियोमा अभिनय गरेकी छन् । भिडियोमा अदिती र जहीरको रोमान्टिक जोडीले दर्शकको ध्यान आकर्षित गरेको छ ।
जहीर इकबाल चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका श्रीमान् हुन् । ‘फरिश्ता’ म्युजिक भिडियोमा जहीर र अदितीबीचको प्रेमिल भाव, आकर्षक प्रस्तुति र सशक्त केमेस्ट्रीलाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ ।
गायक कमल खानको स्वर रहेको ‘फरिश्ता’ गीतको भिडियो फिल्मी शैलीमा निर्माण गरिएको छ । फरहाद साम्जीको निर्देशनमा तयार भएको यस भिडियोमा समुन्द्री तटका मनमोहक दृश्यहरूमा जहीर र अदितीको रोमान्सलाई आकर्षक ढंगले उतारिएको छ । उत्कृष्ट छायांकन, लोकेसन र प्रस्तुतिका कारण भिडियोले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्ने अपेक्षा गरिएको छ ।
अदिती बुढाथोकी पछिल्लो समय नेपाली चलचित्रसँगै भारतीय म्युजिक भिडियोहरूमा पनि निरन्तर सक्रिय छिन् । नेपाली चलचित्र क्षेत्रमा उनले ‘कृ’ र ‘बाबरी’ जस्ता फिल्ममार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरिसकेकी छन् । यस्तै, उनले अभिनय गरेका विभिन्न बलिउड तथा भारतीय म्युजिक भिडियोहरूले युट्युबलगायत डिजिटल प्लेटफर्ममा करोडौं दर्शकको साथ प्राप्त गर्दै उल्लेखनीय सफलता हासिल गरेका छन् ।

नेपाली कलाकारका रूपमा बलिउडमा निरन्तर अवसर प्राप्त गरिरहेकी अदितीको यो नयाँ सहकार्यले अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा उनको उपस्थितिलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ । अहिले सम्म यो म्युजिक भिडियोलाई १९ लाख बढि दर्शकहरुले हेरिसकेका छन् ।




प्रतिक्रिया