Bisal Chautari Logo

‘भूकम्प’कै कथा समेटिएर निर्माण गरिएको ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक

- १२ बैशाख २०७५, बुधबार ११:४९ मा प्रकाशित


‘The Darkness Bacon’

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १२,बुधलबार।  तीन वर्ष अघिको विनाशकारी भूकम्पले एक बालिकाको जीवनमा ल्याएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार आयोजित कार्यक्रममा फिल्मका कलाकारसँगै चलचित्रकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्मका निर्देशक पवन केसीले फिल्मले भूकम्प पछि एउटी गाउँकी युवतीले भोग्ने दर्दनाक कथालाई प्रस्तुत गरिएको बताए । ‘विनाशकारी भूकम्पपछि सिन्धुपाल्चोकको एउटा विकट गाउ तौथलीमा भुकम्पपीडित सन्ध्याको जीवनमा आएको उतारचढावलाई कथात्मक रुपमा हामीले प्रस्तुत गरेका छौं,’निर्देशक केसीले भने, ‘भूकम्पमा आमाबाबु गुमाएपछि काकाकाकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर काकाबाट कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथालाई फिल्मले देखाउनेछ ।’

फिल्मका कार्यकारी निर्माता राजेश रिजालले भूकम्प पछिको क्रन्दनलाई फिल्ममा देखाउन खोजिएको बताए । ‘भूकम्पकै कथाको फिल्म भएर हामीले भूकम्प गएकै दिनको सम्झनामा वैशाख १२ मै कार्यक्रम राखेका हौं ।’ निर्माता रिजालले भने ।

फिल्मकी प्रमुख कलाकार मरक्युरी श्रेष्ठले फिल्ममा काम गर्दा शुरुमा असजिलो लागे पनि पछि सहज भएको बताइन् ।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, पूर्व अध्यक्षद्वय रमेश बुढाथोकी र रविन्द्र खड्काले फिल्मले गहन विषय उठान गरेकाले दर्शकका लागि रुचीकर हुने बताए ।

फिल्म फेस्टिभललाई लक्षित गरिएको फिल्ममा निर्देशक केसीकै कथा, पटकथा, संवाद छ । फिल्ममा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामालगायतको अभिनय छ ।

राजेश रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार बस्नेतको छायांकन, राजेशकै गीत र संगीत र सन्देश परियारको सम्पादन छ ।

प्रतिक्रिया