Bisal Chautari Logo

अमेरीकि डिभि चिट्ठा खुल्यो

- ९ आश्विन २०७०, बुधबार ०२:३५ मा प्रकाशित


१५ असोजदेखि १६ कात्तिकसम्म आवेदन, १ मे २०१४ मा नतिजा  
९ असोज, काठमाडौं । अमेरिकाले सन् २०१५ का लागि डाइभसिर्टी भिसा चिट्ठा (डीभी) खुला गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आइतबार सूचना जारी गर्दै आगामी १५ असोजको मध्याह्नदेखि डीभीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो । दूतावासका अनुसार डीभी चिट्ठाका लागि १६ कात्तिकको मध्याह्नसम्म आवेदन दिन सकिनेछ । एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्नका लागि कुनै शुल्क नलाग्ने जनाउ दिँदै दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गरेको छ ।‘डीभी चिट्ठामा सहभागी हुन कुनै शुल्क नलाग्नेबारे अमेरिकी दूतावास सबै आवेदकसमक्ष जानकारी गराउन चाहन्छ । आवेदन भर्दा कन्सल्टेन्ट अर्थात् परामर्शदाताको सहयोग नलिन अमेरिकी दूतावास सुझाव गर्दछ । सहयोग चाहिएमा बरु पारिवारिक सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको मद्धत लिनुहोला । जसको मद्धत लिए पनि अन्त्यमा गएर आफ्नो आवेदनका लागि तपाईं स्वयं नै जिम्मेवार रहनुहुनेछ,’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ । अमेरिकी दूतावासले डब्लूडब्लूडब्लू डट डीभीलटरी डट स्टेट डट जीओभीमा गएर आफैंले फाराम भर्न सकिने जनाएको हो ।
चिट्ठा खुल्न महिना दिनअघिदेखि नै विभिन्न परामर्शदाताले अग्रिम डीभी भर्ने विज्ञापन गर्न थालेपछि दूतावासले त्यस्ता विज्ञापनको पछि नलाग्न सर्वसाधारण नेपालीलाई सुझाएको हो । डीभी–२०१५ कार्यक्रममा डाइभसिर्टी भिसा चिट्ठाका लागि आवेदन इलेक्ट्रोनिक माध्यमद्धारा दर्ता अवधिभित्र पेस गरिसक्नुपर्ने भन्दै दूतावासले विवाहितहरुले दर्ता गर्ने समयमा श्रीमान्–श्रीमती र २१ वर्षमुनिका सबै अविवाहित सन्तानको नाम अनिवार्य रपमा उल्लेख गरी फाराम भर्न सुझाएको छ । परिवारका सदस्य उल्लेख नगरिए आवेदन रद्ध हुने भन्दै दूतावासले एक व्यक्ति या परिवारले एउटा मात्र आवेदन भर्न सुझाएको छ ।
एकभन्दा बढी आवेदन भरे चिट्ठा रद्ध हुने भन्दै उसले फाराम भरिसकेपछि १५ जुन २०१५ सम्म कन्फर्मेसन लेटर सुरक्षित राख्न भनेको छ । डीभी परे/नपरेको आधिकारिक जानकारी सोही पत्रबाट मात्र हुने स्मरण गराउँदै दूतावासले डीभी चिट्ठाको नतिजा १ मे २०१४ मा सार्वजनिक गरिने जनाएको छ । चिट्ठामा छनोट हुँदैमा भिसा पाइने ग्यारेन्टी नहुने भन्दै दूतावासले अमेरिकी आप्रवासन कानुनयोग्य व्यक्तिलाई मात्र अवसर दिने पनि स्पष्ट पारेको छ । ‘कृपया, याद गर्नुहोला, तपाईं डीभीका लागि छनोट हुँदैमा तपाईंले भिसा पाउनुहुन्छ भन्ने कुराको सुनिश्चित हुँदैन ।
जारी गर्न मिल्ने भिसा संख्या सीमित हुने भएका कारण सबै डीभी विजेताहरुलाई अन्तर्वार्ताका लागि बोलाइँदैन । यदि, तपाईंलाई अन्तर्वार्ताका लागि बोलाइएको खण्डमा कन्सुलर अधिकृतले तपाईं अमेरिकी आप्रवासी कानुनबमोजिम डीभीका लागि योग्य भए/नभएको निर्धारण गर्नेछ,’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ । डीभी चिट्ठा परेका व्यक्ति कम्तिमा १२ कक्षा (प्लस टु) पास गरेको हुनुपर्ने भन्दै दूतावासले सोबमोजिमको योग्यता नपुगेकाले भिसा नपाउने स्पष्ट गरेको छ । ‘शैक्षिक योग्यताअन्तर्गत कम्तीमा १२ वर्षको औपचारिक शिक्षा हासिल गरको हुनुपर्दछ (सामान्यतया एसएलसी+२) ।
तपाईंले पूरै १२ वर्षको शिक्षा कक्षाकोठामा उपस्थित भई हासिल गरेको हुनुपर्दछ, प्लस टु प्राइभेट परीक्षामार्फत दिएर पुग्दैन,’ अमेरिकी दूतावासले भनेको छ, ‘त्यस्ता सीटीईभीटीलगायतका व्यावसायिक डिग्रीहरुलाई मात्र मान्यता दिइन्छ । जसको आधारमा विद्यार्थीले नेपालमा उच्च शिक्षाका जुनैपनि संस्थामा जुनैपनि शैक्षिक कार्यक्रममा पढाइ गर्न पाउँछन् । सीमित शैक्षिक कार्यक्रममा पढाइ गर्न पाउने खालका व्यावसायिक डिग्रीहरु डीभी कार्यक्रमको उद्देश्यका लागि १२ वर्षबराबरको औपचारिक शिक्षाको रुपमा गनिदैन ।’ नेपालस्थित अमेरिकी दूतावासले आवेदकहरुलाई सकेसम्म छिटो आवेदन भर्न आग्रहसमेत गरेको छ । साभार : राजधानि दैनिक

प्रतिक्रिया