Bisal Chautari Logo

खोटाङ सेवा समाज युकेको निःशुल्क स्वास्थ्य शिबिरमा ६ हजार ६३८ सर्वसाधारणले सेवा लिए (फोटो फिचर सहित)

- २६ चैत्र २०८०, सोमबार १८:१९ मा प्रकाशित


बिशाल चौतारी समाचार
खोटाङ, २०८० चैत्र २६ सोमवार ।
खोटाङ सेवा समाज बेलायतको आयोजनामा खोटाङ जिल्लाको बिकट स्थानहरुमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिबिरबाट ६ हजार ६३८ सर्वसाधारणले सेवा लिएका छन् । खोटाङ सेवा समाज बेलायतले गत शनिबार शुभम फाउण्डेसनमा कार्यक्रम गर्दै स्वास्थ्य शिबिर समापन गरेको छ । प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य शिबिरको सम्रग प्रगतिको बारेमा जानकारी दिइएको थियो ।

खोटाङ सेवा समाज बेलायतले ‘मातृ भुमिको सम्मान स्वास्थ्य श्रमदान अभियन’ नारा सहित चैत १६ गतेदेखि चैत २३ गतेसम्म जिल्लाका १० वटा पालिकाको ११ स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिबिरमा ६ हजार ६३८ सर्वसाधारणले सेवा पाएका हुन् । पहिलो चरणको स्वास्थ्य शिबिरबाट २ हजार ९१५ जना र दोश्रो चरणको शिबिरबाट ३ हजार ७२३ जना नागरिक सेवा लिएको खोटाङ सेवा समाज बेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्मलीडाँडामा सञ्चालन गरिएको स्वास्थ्य शिबिरबाट ५०१ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बुईपामा सञ्चालन गरिएको शिबिरबाट ८४० जना, हलेसी तुवाचुङ नगरपालिकाकामा ५३१ जना, दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ७९१ जना, खोटेहाङ गाउँपालिकाका ७०३ जना, साकेला गाउँपालिकाका ५११ जना, बराहपोखरी गाउँपालिकाका ३७४ जना, केपिलासगढी गाउँपालिकाका ६८६ जना, रावाबेँसी गाउँपालिकाका ५६० जना, जन्तेढुंगा गाउँपालिकाका ४८३ जना र ऐसेलुखर्क गाउँपालिकाका ६५८ जनाले सेवा लिएको अध्यक्ष डा. राईले जानकारी दिए ।

सामान्य स्वास्थ्य सेवाका लागि स्वास्थ्य संस्थासम्म जान नसकेका नागरिकलाई लक्षित गर्दै हरेक पालिकामा दुई÷दुई दिन शिबिर सञ्चालन गरिएको थियो । जन्मभूमीको सेवाका लागि खोटाङ सेवा समाज बेलायतको टोली स्वास्थ्यकर्मी र औषधि सहित शिबिर स्थल पुगेका थिए । शिबिरका लागि ११४ जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको समाजले जनाएको छ । सहयोग उठाएर सञ्चालन गरिएको शिबिरमार्फत गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायतका चेकजाँचका साथै आवश्यक औषधि वितरण गरिएको डा. राईले बताए । आफ्नो गाउँ ठाउँलाई आफ्नो दक्षता अनुसारको सेवा गर्नुपर्छ । सबैले सकेको सहयोग गरे आफ्नो गाउँ ठाउँ बन्छ । यो हाम्रो कर्तव्य पनि हो, डा. राईले भने, यस संस्थाको नेतृत्व लिएपछि खोटाङ्गे नागरिकलाई के सेवा गर्न सक्छु खोटाङलाई के दिन सक्छु भन्ने थियो । स्वास्थ्य शिबिर लगियो भने केही न केही सेवा दिन सकिन्छ भनेर यो कार्यक्रम गरिएको हो ।

यस्तै, कार्यक्रममा खोटाङ सेवा समाज बेलायतले दुई जनालाई ‘खोटाङ नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरेको छ । हाल बेलायत बसोबास गरिरहेका खोटाङ्गे अगुवाले सन् २००७ मा स्थापना गरेको खोटाङ सेवा समाज बेलायतले शिक्षाविद एवं समाजसेवी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान तथा कवि चन्द्र रानोहँछालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गरेको हो । उनीहरुलाई निःशुल्क स्वास्थ्य शिबिर समापनको अवसरमा शनिबार ‘खोटाङ नागरिक सम्मान’ र ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो । शुभम फाउण्डेसनमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधिसभा सदस्य रामकुमार राईले शिक्षाविद एवं समाजसेवी राईलाई नगद एक लाख राशी र ताम्रपत्र सहितको नागरिक सम्मान तथा कवि रानोहँछालाई नगद ५० हजार राशी र ताम्रपत्र सहितको प्रतिभा पुरस्कार प्रदान गरेका हुन् । शिक्षा, समाजसेवा र साहित्यका माध्यमबाट आफ्नो माटो, ठाउँ, समाज र राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै चतुरभक्त र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै रानोहँछालाई सम्मान एवं पुरस्कृत गरिएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष बिभागका संयोजक डिल्लीराम राईले बताए । समाजले साहित्य, कला, संगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई ‘नागरिक सम्मान’ तथा २० वर्ष माथिका प्रतिभालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गर्दैआएको छ ।

हालसम्म पहिलो चरणमा कृषिबिज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराती र संगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेबी एबं समाजसेवी ईमानसिं राई र गीतकार टीका चामलीङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौं चरणमा शिक्षाविद जयकुमार राई र साहित्यकार एवं प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई ‘नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरि सकिएको छ ।

प्रतिक्रिया