Bisal Chautari Logo

‘नेपाल रन यूके’को आयोजनामा ‘नर्थल्ट १० के’ रनमा नेपाली र विदेशी धावकहरु दौडिए (फोटो फिचर सहित)

- २२ कार्तिक २०८०, बुधबार २१:२५ मा प्रकाशित


विशाल चौतारी समाचार
लण्डन, २०८० कार्तिक २२ बुधवार।
बेलायतको इंग्ल्याण्ड एथलिटिक्समा दर्ता भएको क्लब ‘नेपाल रन यूके’ ले आइतबार ‘नर्थल्ट १० के’ रन प्रतियोगिता आयोजना गरेको छ । ‘रिमेम्बरेन्स डे’ को अवसर पारेर लन्डननजिक नर्थला पार्कमा गरिएको उक्त १० किलोमिटर लामो दौडमा ३२० जनाले सहभागिता जनाए । ‘नर्थल्ट १० के’ रन मा नेपाली र विदेशी धावकहरु एकसाथ दौडिएका थिए ।

नर्थल्ट १० केमा इलियास अहमद ३२ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पुरा गरेर प्रथम भए भने महिलातर्फ निकोला पेन्टी अल्विराजले ४४ मिनेट ४२ सेकेन्डमा दौड पुरा गरेर प्रथम स्थान हासिल गरिन् । त्यस्तै पुरुषतर्फ क्रमशः द्वितीय र तृतीय सिमोन सहले ३४.१७ मिनेट र जोनाथ होराले ३४.५८ मा दौड समापन गरेका थिए । महिलातर्फ द्वितीय र तृतीय क्रमशः मान्दा गुरुङले ४४.४२ मा र क्लार मोरिसले ४६.३१ मा दौड समापन गरेका थिए ।

६० वर्ष बढी उमेर समूह सुपर भेट्रान पुरुषमा स्टेफान प्लामर ३९.४० र लोराइन लेकेन्बीले ६०.५८ मिनेटमा दौड समापन गरेको जानकारी सचिव जगन कार्कीले दिए । ४० देखि ६० वर्ष उमेर समूहमा सिमोन ओसेया ३४.१७ मिनेट र सलिना राज भण्डारीले ३४.१७ मिनेटमा समापन गरेर प्रथम स्थान हासिल गरेका थिए ।

नेपाल रन क्लबका तर्फबाट प्रकाश गुरुङले ३५.१९ मिनेटमा प्रथम स्थान हासिल गरे भने तेजमाया सिग्देलले ४७.२५ मिनेटमा सकेर प्रथम स्थान हासिल गरे । नेपाल रनको उत्कृष्ट दौड सुधारको पुरस्कार अमृत श्रेष्ठले प्राप्त गरे । कार्यक्रममा सहभागीहरुलाई टिसर्ट, मेडल र प्रथम, द्वीतिय र तृतीय हुनेलाई पुरस्कार पनि प्रदान गरिएको थियो । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अल्ट्रा धाविका मीरा राईको विशेष आतिथ्यमा दौड भएको हो । कार्यक्रममा सेतो पुतली अभियानका कलाकार मिलन राई, एभरेष्ट म्याराथनका संस्थापक विक्रम पाण्डे लगायतको पनि उपस्थिति थियो ।

नेपालीहरुद्वारा आयोजना गरिएको यो विशेष कार्यक्रममार्फत् नेपाली, गोर्खा समुदायको सकारात्मक गतिविधि र नेपाल प्रवर्धनमा पनि सहयोग पुगेको नेपाल रनका संयोजक पाण्डव महतोले जनाए । अल्ट्रा धाविका मीरा राईले लन्डनमा नेपाली समुदायको दौडप्रतिको आकर्षण देखेर आफू निकै प्रभावित भएको बताइन् । उनले यस्ता खालका प्रतियोगिता नेपालमा समेत जरुरी भएको बताउँदै आफूले पहल गर्ने जानकारी दिइन् । नर्थल्ट १० केको प्रमुख प्रायोजक ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका प्रबन्ध निर्देशक मीन दर्लामीले नेपाली समुदायमा स्वास्थ्य सचेतना र तन्दुरुस्त रहन प्रेरित गर्ने कार्यक्रममा प्रमुख प्रायोजन गर्न पाउँदा गर्व लागेको बताए ।

उक्त दौड कार्यक्रम संयोजन सन्तोष राई र स्वयंसेवकहरुको संयोजन रविन्द्र अधिकारीले गरेका थिए। संयोजक राईले सबै प्रायोजकलाई धन्यवाद व्यक्त गर्दै क्लबले अहिलेका कमीकमजोरी सुधारेर आगामी वर्ष अझ प्रभावकारी इभेन्ट गर्ने प्रतिवद्धता व्यक्त गरे। उक्त इभेन्टमार्फत मीरा राई इनिसीएटीभको सहयोगार्थ ‘फन्ड रेज’ पनि गरिएको थियो ।

प्रतिक्रिया