Bisal Chautari Logo

दिनेश र आकृतिले ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३’को उपाधि चुमे

- ३० जेष्ठ २०८०, मंगलवार २१:४३ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० जेठ ३०, मंगलवार ।
‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३’को दोस्रो संस्करणमा बागलुङका दिनेश विश्वकर्मा र धरानकी आकृति शंकरले उपाधी जितेका छन् । केही दिन अगाडी राष्ट्रिय नाचघरमा आयोजना गरिएको प्रतियोगितामा दुई बिजेताले ५० हजार रुपैयाँसंगै ट्रफी उचालेका थिए । विजेताले निर्देशक जीवन शाहीसँग म्युजिक भिडियोमा अभिनय गर्न पाउने पनि छन् ।

बि ब्रोस् र विश्वकर्मा समाज समिती चितवनले आयोजना गरेको प्रतियोगितामा दिनेशले विजेताको ट्रफी उचाल्दा राजेन्द्र विश्वकर्माले फस्ट रनरअप र पवन विश्वकर्माले सेकेन्ड रनरअपको उपाथी जिते । त्यस्तै आकृतिले विजेताको ताज पहिरिदा सोनिया गदालले फस्ट रनरअप र निरुता विश्वकर्माले सेकेन्ड रनरअपको ताज आफ्नो शिरमा पार्न सफल भए ।

विश्वकर्मा समुदायका युवायुवतीहरुले जस्तोसुकै परिवेशमा पनि आफूमा भएको प्रतिभा प्रस्तुत गर्न सक्छन् भन्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताका जजहरू क्रमशः अक्षयजंग रायमाझी (मिस्टर नेपाल २०१८), जीवन शाही (निर्देशक), विना श्रेष्ठ (मिडिया पर्सानालिटी तथा निर्देशक), नरेशवीर सिंह (डान्स कोरियोग्राफर), रोविन परियार (डिजाइनर), ज्वालाराज पोखरेल (डिजाइनर) र रितु सेन्चुरी (उपाध्यक्ष, विश्वकर्मा समाज समिति) रहेका थिए ।

नेपालका चर्चित मोडल तथा कोरियोग्राफर दिक्पाल कार्कीबाट मोडलिङसम्बन्धी ज्ञान, फेसन डिजाइनर रोहित चौधरी, रोविन परियार र ज्वालाराज पोखरेलले पहिरनको डिजाइन एक महिनाको विशेष प्रशिक्षण प्रतियोगीहरूलाई दिएका थिए । प्रतियोगितामा १६ देखि २९ वर्ष उमेर समूहका १० युवा र १२ युवती सहभागी थिए ।

प्रतिक्रिया