Bisal Chautari Logo

प्याब्सन लिटिल आइडल २०२३ को खोजी सुरू ( फोटो फिचर सहित )

- २७ जेष्ठ २०८०, शनिबार २१:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०८० जेठ २७, शनिवार ।
प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले मिस लिटिल आइडल २०२३ को खोजी सुरू गरेको छ । प्याब्सन काठमाडौंले शनिबार जमलस्थित सांस्कृतिक संस्थानमा पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो । शैक्षिक कोर्षमा नसमेटिएका तर विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता यो १२औं संस्करण हो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगितामा सहभागी हुन आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिष्पर्धामा सहभागी गराइने छ । छनोट भएका प्रतियोगीहरुलाई २०८० साउन ६ गतेदेखी प्रशिक्षण सुरु गरी साउन २७ गते शनिबार अन्तिम प्रतिष्पर्धा गराइने छ । प्रतियोगीहरुलाई कोरियोग्राफर रोजिन शाक्य र कोच सिभिरा लामाले तीन साता प्रशिक्षण दिनुहुने छ भने अन्य विभिन्न विधाका विशेषज्ञबाट समेत प्रशिक्षण दिइने छ ।

प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई सम्बन्धित विद्यालयमा प्याब्सन काठमाडौंको तर्फबाट एकएक वर्षको छात्रवृत्ति एवं क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । त्यसैगरी मिस ट्यालेन्ट उपाधि विजेतालाई पनि एकवर्षको छात्रवृत्तिसहित १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । गतवर्षदेखी हरेक सहभागीलाई उनीहरुमा निहित क्षमता र प्रतिभा पहिचान गरी सोहीअनुसार उपाधीसहित सम्मान गरिदै आएको छ ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका अध्यक्ष प्रेमकुमार राईले प्रतियोगितामा विभिन्न विद्यालयमा कक्षा चारदेखी कक्षा आठसम्म अध्ययनरत ८ देखी १३ वर्ष उमेर समुहका बालिका सहभागी हुन पाउने जानकारी दिनुभयो । ‘शैक्षिक कोर्षमा नसमेटिएका तर बदलिँदो समय र प्रविधीका कारण आवश्यक विधामा छात्राहरुलाई दक्ष बनाउन र उनीहरुमा निहित प्रतिभा प्रस्फुटन, आत्माविश्वास, व्यक्तित्व विकास एवं सिर्जनात्मक कार्यमा प्रेरित गर्न मिस लिटिल आइडल आयोजना गरिएको हो’, अध्यक्ष राईले भन्नुभयो ।

प्याब्सन काठमाडौंकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक रीता राई (दाहाल)ले प्रतियोगितामा परिचय राउण्ड, कल्चरल राउण्ड, स्पिच राउण्ड, टप १५ राउण्ड र टप ७ राउण्ड गरी पाँच चरणमा प्रतिष्पर्धा गराइने जानकारी दिनुभयो । ‘हरेक विद्यार्थीमा केही न केही क्षमता हुन्छ । त्यस्तो क्षमता देखाउन, उनीहरुमा आत्माविश्वास बढाउन यस्तो प्रतियोगिता आवश्यक छ । यो समयको माग हो’, संयोजक राईले भन्नुभयो, ‘‘सहभागी विद्यार्थीमा जे क्षमता छ, त्यसमा निख्खार ल्याउने र सोहीअनुसार प्रमाणपत्र, उपहार एवं ट्रफीसहित सबैलाई सम्मान गरिँदै आएको छ । यसबाट विद्यार्थीहरु सिर्जनात्मक काममा थप प्रेरित भएको पाएका छौं ।’

प्रतिक्रिया