Bisal Chautari Logo

पल शाहले बलात्कारको मुद्दामा सफाइ पाए || बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय

- २१ भाद्र २०७९, मंगलवार २२:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७९ भाद्र २१ मंगलबार ।
अभिनेता पल शाह पूर्णविक्रम शाहले नाबालिग बलात्कार अभियोगबाट सफाइ पाएका छन् । जिल्ला अदालत, नवलपुरले अभिनेता शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको हो । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ । जिल्ला अदालत नवलपुरका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले मंगलबार उक्त फैसला गरेका हुन् । आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।

जिल्ला अदालत नवलपुरबाट उक्त फैसला भए पनि तनहुँ जिल्ला अदालतमा भने नाबालिग बलात्कार मुद्दा विचाराधीन छ । जिल्ला अदालत नवलपुरमा मंगलबार पीडित नाबालिगका तर्फबाट सरकारी वकिल डालबहादुर नेपाली, कमलराज पन्थी र बुद्धबहादुर थापाले बहस गरेका थिए भने पलका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन काफ्लेसहित ७ जनाले बहस गरेका थिए ।

पलले सुटिङका क्रममा तनहुँ र नवलपुरमा बलात्कार गरेको भन्दै एक नाबालिग गायिकाले उजुरी दिएकी थिइन् । तनहुँ प्रहरीमा गत फागुन ११ गते र नवलपुर प्रहरीमा फागुन १५ गते उनका बुवाले उजुरी दिएका थिए । प्रहरीले नाबालिग बलात्कार अभियोग दर्ता गरेपछि तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरूद्ध पल शाह उच्च अदालत पोखरामा पुनरावेदन गराएका थिए । उच्च अदालतले पनि जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।

तनहुँ र नवलपुर दुवै जिल्ला अदालतमा गत वैशाखमा बकपत्र गर्दा पीडित नाबालिग र उनका बुवाले बयान फेरेका थिए । बकपत्रमा नाबालिगले आफूमाथि बलात्कार नभएको बताएकी थिइन् । उनका बुवाले पनि छोरीले दिएकै बयान ठिक भएको अदालतमा बताएका थिए ।

प्रतिक्रिया