Bisal Chautari Logo

प्रेम र रोमान्सबारे ‘क्रेजी लभ’ बजारमा

- २० फाल्गुन २०७०, मंगलवार १३:५२ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २० फागुन ।
ग्ल्यामर जीवन रुचाउने युवापुस्ताका गाउँले प्रेमबारे गजेन्द्र मोक्तानले लेखेको उपन्यास ‘क्रेजी लभ’ बजारमा आएको छ । प्रेम, रोमान्स र यौनका भोका दुई क्रेजी प्रेमीकामाथि लेखिएको उपन्यासमा लेखकले विदेश बस्नेका कथा व्यथालाई पनि उनेका छन् ।
उपन्यासको विमोचन केही दिन अगाडी काठमाडौमा एक औपचारीक कार्यक्रमको आयोजना गरी लेखकद्वय हरि अधिकारी र धु्रव सापकोटाले गरेका थिए । विमोचनपछि हरि अधिकारीले भने, ‘अहिले बजारमा चलनचल्तिको फास्टफुड पुस्तालाई सोचेर उपन्यास लेख्ने क्रम बढ्दै छ । यस्तै फेसनमा नयाँ अर्को उपन्यास थपेकोमा उपन्यासकारलाई बधाई ।’ कथाकार धु्रव सापकोटाले उपन्यासबारे भने, ‘प्रेम र त्यसले निम्त्याउने दुखद परिणतीबारे उपन्यास लेखिएको छ । विदेशमा बस्ने नेपालीलाई यो आफ्नै कथाझैं लाग्न सक्छ ।’
त्यस्तै कार्यक्रममा पत्रकार/निबन्धकार दीपक सापकोटाले प्रेम–पीडा, विदेशमा बस्ने श्रीमानले दु:खसाथ पठाएको पैसामा श्रीमतिहरुले अरु प्रेमिसँग गरेको मस्ती र त्यसले समाजमा ल्याएको सामाजिक विचलनमाथि उपन्यास लेखिएको सुनाए । झमककुमारी घिमिरेको आत्मकथा ‘जीवन काँडा की फूल’ पढेपछि आफू पनि लेखक बन्न सक्छु भन्ने प्रेरणामा ‘क्रेजी लभ’ लेखिएको लेखक गजेन्द्र मोक्तानले बताए । ‘विदेश बस्ने मान्छेको भावना, रेमिटेन्सले समाजमा ल्याएका तरंगबारे उपन्यास लेख्ने प्रयास गरेको छु’ उपन्यासकार मोक्तानले भने । कार्यक्रममा लेखक बिष्णुकुमार पौडेलले पनि बोलेका थिए । ‘क्रेजी लभ’ बीएन पुस्तक संसारले प्रकाशन गरेको हो ।

add

प्रतिक्रिया