Bisal Chautari Logo

प्रचण्ड-माधव पक्षले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

- १८ पुष २०७७, शनिबार ०५:३८ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २०७७ पौष १८ शनिवार ।
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए ।

‘संघर्षका स्वरुपबारे नेताहरुबीच दिउँसो छलफल गरेर टुुंगोमा पुग्छौ, त्यसपछि पत्रकार सम्मेलन गरेर घोषणा गरिनेछ’, शर्माले रातोपाटीसँग भने ।
प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।

यसअघि पुस १५ गते नै दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको सो पार्टीले केही दिन अन्य दलको सहमति जुटाउन स्थगित गरेको थियो । यो बीचमा काँग्रेस र जसपाससँग संयुक्त आन्दोलनका लागि प्रयास भएपनि काँग्रेस र जसपाले तत्काल संयुक्त आन्दोलनमा जान अरुची देखाएपछि प्रचण्ड माधव पक्ष एक्लैले दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

प्रतिक्रिया