Bisal Chautari Logo

जिसस प्रमुखलाई कोरोना संक्रमणको पुष्टि

- २० आश्विन २०७७, मंगलवार ०८:२६ मा प्रकाशित


उदयपुर :  जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नाललाई कोरोना पोजिटिभ देखिएको छ । प्रादेशिक अस्पताल विराटनगरस्थित कोरोना प्रयोगशालामा मंगलबार गरिएको परीक्षणबाट उनलाई कोरोना पुष्टि भएको हो ।

 

उनीसँगै जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या एक सय २५ पुगेको छ । त्यसमध्ये ९३ जना पुरुष र ३२ जना महिला रहेका छन् । दश दिनअघि आमाको उपचारमा बिराटनगरस्थित अस्पतालमा पुगेका उनलाई त्यहीँबाट कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ । लामो समयदेखि उनी विराटनगर नै रहेकाले जिल्लामा कन्ट्रयाक ट्रेसिङ्गमा परेको पनि हुनसक्ने  बताइएको छ ।

दुई दिनअघि मात्र जिल्लामा फर्किएका उनी आउनसाथ शंका लागेपछि सरकारी निवासमै बस्दै आएका थिए । उनको दुई दिनअघि मात्र जिल्ला स्वास्थ्य कार्यालयले स्वाब संकलन गरेको स्वास्थ्य प्रमुख मोहन सुबेदीले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई उदयपुर कोभिड १९ अस्पताल बेल्टार पठाइएको उनले बताए । त्रियुगा नगरपालिका ३ भुल्केबाट उदयपुरमा सुरु भएको कोरोना भाइरस भुल्केपछि सबैभन्दा बढी बेलका नगर क्षेत्रमा संक्रमित देखिएका छन् ।

संक्रमित मध्ये हालसम्म त्रियुगा नगरपालिकामा ७१ जना, बेलका नगरपालिकामा ४० जना, कटारी नगरपालिकामा ७ जना, उदयपुरगढी गाउँपालिकामा २ जना, चौदण्डीगढी नगरपालिकामा २ जना र ताप्ली गाउँपालिकामा ३ रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।

स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म १ हजार ९ सय ७५ जना महिलासहित सात  हजार ७ सय ६१ जनाको पिसिआर टेष्ट गरिएको छ । त्यसमध्ये सात हजार सात सय २३ जनाको रिर्पोट आइसकेको छ । कार्यालयकाअनुसार १२ जना पुरुषसहित १५ जना क्वारेन्टाइनमा रहेका छन् भने चार सय ५४ जना पुरुषसहित चार सय ७२ जना होमक्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया