Bisal Chautari Logo

तीन दिने वृहत ‘चलचित्र पत्रकारिता कार्यशाला’ सम्पन्न

- २१ भाद्र २०७६, शनिबार १८:३२ मा प्रकाशित


Film Journalist Association Nepal Workshop Pokhara
विशाल चौतारी समाचार
काठमाडौ, २०७६ भाद्र, २१ शनिबार ।
चलचित्र पत्रकार संघ नेपालले चलचित्र विकास बोर्डसँग सहकार्य गरेर पोखरामा आयोजना गरेको तीन दिने वृहत ‘चलचित्र पत्रकारिता कार्यशाला’ शुक्रबार साँझ सम्पन्न भएको छ ।

नेपाली फिल्मको दोस्रो ठूलो बजार मानिने पोखराको नेपाल पर्यटन बोर्डको सभाहलमा गत बुधबार साँझ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरेको कार्यशाला चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा समापन भएको हो । भाद्र १९ गतेदेखि २० गतेसम्म चलेको ‘चलचित्र पत्रकारिता कार्यशाला’ मा काठमाडौं र अन्य शहरबाट करीब १ सय २० जना चलचित्र पत्रकारहरु सहभागी भएका थिए ।
चलचित्र पत्रकार संघ, नेपालका अध्यक्ष सन्दीप सापकोटाले यस कार्यशालाले चलचित्र पत्रकारहरुको क्षमता अभिवृद्धिमा ठूलो भूमिका खेल्ने बताए । अध्यक्ष सापकोटाले यस कार्यशालाबाट सिकेका कुरा व्यवहारमा उतार्न पनि पत्रकारलाई समापन कार्यक्रममा आग्रह गरेका थिए । उनले भोलीका दिनमा पनि पत्रकारको क्षमता अभिवृद्धिमा संघले विभिन्न कार्यशाला तथा गोष्ठीको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यशालामा पत्रकार आचारसंहिता, डिजिटलरमल्टीमिडिया पत्रकारिता, फिल्म समीक्षा, चलचित्र पत्रकारिता हिजो र आज, पर्यटन र चलचित्रको अन्तरसम्बन्धको विषयमा प्रशिक्षण दिइएको थियो । भने, चलचित्र पत्रकार र चलचित्र विकास बोर्डबीचको अन्तरसम्बन्धको विषयमा अन्तरक्रिया पनि गरिएको थियो । कार्यशालाको क्रममा चलचित्र पत्रकारलाई पोखराका विभिन्न पर्यटकीय स्थानको अवलोकन पनि गराइएको थियो ।
कार्यशालाका लागि श्रोत व्यक्तिको रुपमा शिक्षक मासिकका सम्पादक तथा प्रकाशक, प्रेस काउन्सिलका पुर्वअध्यक्ष तथा पूर्वराष्ट्रपति रामबरण यादवका प्रेस सल्लाकार राजेन्द्र दाहाल, अन्तराष्ट्रिय सञ्चारमाध्यममा कार्यरत रजनीश भण्डारी, चलचित्र पत्रकार तथा नेपाल लाइभका सम्पादक नारायण अमृत, फिल्म समीक्षक अनुप सुवेदी र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया रहेका थिए ।

पत्रकार डब्बु क्षेत्रीले सहजकर्ताको भूमिका खेलेको कार्यशालाको एक सत्रमा विकास बोर्डको भावी योजना, बोर्ड र पत्रकारबीचको सम्बन्ध र बोर्डले चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणको विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आफ्नो भनाई राखेका थिए । त्यस्तै, कार्यशालाको अन्तिम सत्र ‘आत्मसमीक्षा’ मा पत्रकार शुशील पौडेल र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले सहभागी पत्रकारको जिज्ञासा मेटाएका थिए । अन्तिम सत्र ‘आत्मसमीक्षा’ मा सहभागी पत्रकारहरुले चलचित्र पत्रकार संघ नेपाललाई धन्यवाद दिएका थिए ।
त्यस्तै बोर्ड अध्यक्ष केशव भट्टराईले पत्रकार संघले गरेको यस कार्यको मुक्तकण्ठले प्रशंसा गरे । उनले चलचित्र सम्बन्धि अन्य संघ संस्थाले पनि यस प्रकारका कार्यक्रम गर्नुपर्नेमा जोड दिए ।

Bisalchautari Tv

प्रतिक्रिया