Bisal Chautari Logo

‘गोजीमा दाम छैन’ संगीतकार राजनराजलाई निर्माताले दिए ५० हजार

- १३ कार्तिक २०७५, मंगलवार ११:१३ मा प्रकाशित


Gojima Daam Chaina CHANGAA CHAIT Movie Song
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ कात्तिक, १३ मंगलबार । यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा चेट’को ‘गोजीमा दाम छैन’ अहिलेको सुपरहिट गीत हो । यूट्युबमा मात्र गीतमाथि डेढ करोड बढीले हेरिसकेको छ । निर्माण टिमले यसलाई ठूलो सफलताको रुपमा हेरेको छ ।
गीतलाई यूट्युबमा १ करोड ५० लाख पटक हेरिएको अवसरमा निर्माण टिमले केक काटेर खुसीयाली साटेको छ । राजधानीमा एक कार्यक्रमका बीच संगीतकार, गीतकार, निर्देशक, निर्माता तथा कलाकारले संयूक्त रुपमा डेढ करोडको केक काटे । केक काटेर सेलिब्रेसन गर्दै निर्माता वाग्लेले संगीतकारलाई ५० हजारको चेक हस्तान्तरण गरे । यो पारिश्रमिक होइन । मैले उहाँलाई गीतले करोड भ्यूज कमायो भने उपहार दिन्छु भनेर वचन दिएको थिएँ । यो त्यही उपहार हो,’ उनले भने ।
उक्त रकमबाट ५ प्रतिशत गीतकार तिमल्सिनालाई दिने पनि संगीतकार सिवाकोटीले मिडियामाझ नै घोषणा गरे । केक काट्दै निर्माता माधव वाग्लेले भने, ‘चलचित्रले पनि गोजीमा दाम भरोस् ।’
‘गोजीमा दाम छैन’ गीतमा राजनराज सिवाकोटी, मेलिना राई र ग्रिष्मा सिवाकोटीको स्वर छ । गीतको शब्द हरिहर तिमल्सिनाले लेखेका हुन् । निर्देशक दीपेन्द्र के. खनालले दाम हुने र नहुनेहरुको कथा फिल्मले बोल्ने बताए । उनी भन्छन, ‘गीतले बोेलेकै कथा फिल्मले उठाएको छ । तीन पुरुष पात्रको वरिपरि फिल्म घुमेको छ ।’ उनी फिल्मलाई डार्क कमेडी भन्न रुचाउँछन् ।

चलचित्रमा आयुष्मान देशराज जोशी, प्रियंका कार्की, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्ममा माधव वाग्लेलाई शर्मिला पाण्डेले लगानीमा सहयोग गरेकी छन् । निश्चल बस्नेत, अर्पण थापा, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन् ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया