Bisal Chautari Logo

भारतीय नागरिकलाई किर्ते गरी नेपाली नागरिकता बनाइदिदा ६ जना पक्राउ

- २९ मंसिर २०७४, शुक्रबार ०६:२४ मा प्रकाशित


Six people arrested while making Nepali citizenship
विशाल चौतारी समाचार
सप्तरी,२०७४ मंसिर २९ शुक्रवार । भारतीय नागरिकलाई किर्ते नेपाली नागरिकता बनाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नागरिकता बनाउन आएका दुई जना भारतीयसँगै वडा सचिव, प्रशासन कार्यालयका कार्यालय सहयोगी समेत पक्रउ परेका छन् ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १० का ४९ बर्षीय सचिव वकील मियाँ, जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी ३० वर्षीय अजय कुमार यादव, सुनसरी हरीपुरका ५५ वर्षीय कलिम मियाँ, झापाको बिर्तामोड नगरपालिका ४ का २० वर्षीय मो.सईरो छन् ।
यस्तै भारतीय नागरिक ३१ वर्षीय मो. लतिफुर रहमान र भारतको किसनगंज ग्राम तिवरिया थाना कोचाधामन घर भई हाल जिल्ला झापा बिर्तामोड न.पा. १ बस्ने बर्ष २६ का मो.नवेद छन् ।
वडा सचिव वकिल मियाँको साथबाट नगद एक लाखसहित दुई जनाको किर्ते नागरिकता प्रमाण पत्र फेला परेको छ ।
उनको साथबाट मो.वकिल अन्सारीको नाम र फोटोसहित जारी मिति २०६९/०३/२६ उल्लेख गरी जिप्रका सप्तरीको नागरिकता कार्डमा तयार भएको नागरिकता प्रमाणपत्र र मो.हदिस नामको फोटो सहितको २०३८/११/२४ मितिमा जारी भएको उल्लेख गरिएको नागरिकता भेटिएको छ ।
भारतीय नागरिक लतिफुर रहमानको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीको १६८९५७ नम्बरको जारी मिति २०६७/०३/२९ उल्लेख भएको नेपाली नागरिकता प्रमाण पत्रका कार्ड एक थान बरामद भएको छ ।
नागरिकतामा फोटो निजको भएतापनि नाम मो.लतिरा लेखिएको पाईएको छ । उनको साथबाट नगद दश हजार ४४५ रुपैयाँ समेत बरामद भएको प्रहरी प्रमुख मुकेश कुमार सिंहले बताए ।
कलिम मियाँको साथबाट मो.सईरो नाम र फोटोसहित नेपाली नागरिकताको कार्ड एक थान, बरामद भएको छ ।
भारतीय नागरिक नवेदको साथबाट जिल्ला प्रशासन कार्यालय सप्तरीबाट जारी नेपाली नागरिकता बरामद भएको छ ।

प्रतिक्रिया