Bisal Chautari Logo

पर्वतमा विश्वकै दोस्रो लामो जिपलाइन निर्माण सुरु

- २८ मंसिर २०७७, आईतवार ०५:१० मा प्रकाशित


विशाल चौतारी समाचार
पर्वत, २०७७मंसिर २८ आइतवार ।
अग्ला र लामा पुल तथा साहसिक खेलको तीव्र विकास भइरहेको पर्वत जिल्लामा विश्वकै दोस्रो लामो जिपलाइन बन्ने भएको छ । विश्वकै दोस्रो अग्लो दाबी गरिएको बन्जी जम्प रहेको नजिकै कुस्मा नगरपालिका–५ चाक्लेको डिलबाट साउने बगरसम्म १४ सय मिटर लम्बाइको जिपलाइन निर्माण गर्न लागिएको हो । हार्नेस जिपलाइन प्रालि पर्वतले ११ करोडको लागतमा जीपलाई निर्माण सुरु गरेको हो ।

जिपलाइनको पर्वतको कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले शिलन्यास गरेका छन् । धौलागिरिको प्रवेशद्वारको रुपमा रहेको पर्वत सदरमुकाम कुश्मा बजारमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले जिपलाइनसहित कालीगण्डकी नदीको किनारमा सुविधासम्पन्न रिसोर्ट निर्माण गर्न थालिएको सञ्चालक सागर जोशीले जानकारी दिए ।

यो जिपलाइन सुपर म्यान शैलीमा निर्माण गर्न लागिएको भारतीय निर्माण कम्पनी श्याम जिपलाइनका इन्जिनियर नवीन मेस्सीले बताए । “यहाँको जिपलाइन सुपर म्यान शैलीको बनाउन लागिएको हो । क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने सुपर म्यानमा सुपर म्यान जस्तै घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ” उनले भने, “यहाँबाट नजिकको जिपलाइन पोखरामा रहेको छ । त्यहाँको जिपलाइन क्लासिक हो जसको लम्बाई १८ सय मिटर छ ।”

क्लासिक जिपलाइनमा पोखराको जिपलाइनको लम्बाई कुस्मामा बन्दै गरेको हार्नेस जिपलाइन प्रालिको भन्दा बढी हुने भए पनि सुपर म्यान शैलीमा पर्वतको जिपलाइन विश्वकै दोस्रो लामो बन्ने भएको हो । सुपर म्यान शैलीमा विश्वको सबैभन्दा लामो २८ सय मिटरको जिपलाइन दुबईमा रहेको छ । जसको निर्माण अमेरिकी कम्पनीले गरेको थियो ।

इन्जिनियर मेस्सीका अनुसार पर्वतको जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुण्डिन मिल्छ भने ६० देखि ९० सेकेन्डको समय अवधिभित्रमा यात्रा पूरा हुन्छ । हावाको गति र खेलाडीको तौलमा जिपलाइनको गति भर पर्ने भए पनि जिपलाइनमा यात्रा सुरु गर्दा प्रतिघण्टा एक सय ३० किलोमिटरको गतिमा बगेर गन्तव्य नजिकिँदै जाँदा बिस्तारै घट्दै जाने उनको भनाइ छ । कालीगण्डकी नदीको सतहबाट दुई सय ३८ मिटरको उचाइबाट यात्रा सुरु हुनेछ भने त्यसको ल्याण्डिङ कालीगण्डकी नदी किनारमा बन्ने रिसोर्टमा हुनेछ ।

जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलो तौल धान्न सक्नेछ । खेलका क्रममा खेलाडी जोखिममा परेर उद्दार गर्नुपर्ने भएमा एक मिनेटभित्रमा उद्दार गरिने इन्जिनियर मेस्सीले बताए ।

कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले कुस्मामा बन्ने जिपलाइनले कालीगण्डकी नदीलाई दुई ठाउँमा नाघेर जाने भएकोले अन्यत्र ठाउँमा रहेका जिपलाइन भन्दा पर्वतको जिपलाइनमा पर्यटकहरूको आकर्षण बढी हुने बताए । जिपलाइन नजिकै अर्को साहसिक खेल बन्जी जम्प रहेकाले त्यहाँ आउने पर्यटकहरूले कालीगण्डकी नदी माथिको जिपलाइनको पनि अनुभव गरेर फर्किने उनको भनाइ छ ।
“पर्वत जिल्ला अब साहसिक खेलहरूको जिल्लाका रूपमा चिनिन थालेको छ । बञ्जीजम्प, स्काई साइक्लिङ, रक क्लाइम्बिङ रहेको यो ठाउँमा अब विश्वकै दोस्रो लामो सुपर म्यान जिपलाइन बन्ने भयो” उनले भने, “यसले पर्वत जिल्लासहित बागलुङ र म्याग्दी जिल्लामा पनि पर्यटकहरु तान्न सहयोग गर्छ ।”

उनका अनुसार जिपलाइनको गन्तव्य रहेको साउने बगरमा रिसोर्ट समेत बनाइने भएको छ । जिपलाइनमा रमाउन आउने पाहुनाहरूलाई खान बस्नको सुविधा त्यही रिसोर्टमा हुनेछ ।

जिपलाइन, रिसोर्ट र अन्य साहसिक खेल निर्माणको लागि प्रारम्भिक रूपमा ११ करोड खर्च लाग्ने अनुमान गरिएको छ । जसमा नगरप्रमुख जोशीसहित, नरेन्द्र केसी, राजकुमार बस्नेत, सागर जोशी, विदुर पौड्याल, सूर्यबहादुर क्षेत्री र सुनिल बानियाँले लगानी गर्ने भएका छन् ।

प्रतिक्रिया